काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जेनजी आन्दोलनबारे वस्तुनिष्ठ दृष्टिले विश्लेषण गर्नुपर्ने बताएका छन्। पार्टी केन्द्रीय समितिको जारी बैठकमा उनले आन्दोलनलाई लाञ्छित गर्नुको साटो सम्मान र स्वीकार्यता दिनुपर्ने धारणा राखेकी छन्।
शाक्यका अनुसार अध्यक्ष केपी शर्मा ओलीले बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन पदाधिकारीको सल्लाह लिएर तयार गरिएको थिएन। उनले भनिन्, ‘प्रतिवेदनमा जेनजी आन्दोलनको वस्तुनिष्ठ समीक्षा गरिएको छैन। यसलाई कुनै षड्यन्त्र वा शक्तिकेन्द्रले परिचालित गरेको जस्ता आरोप लगाएर लाञ्छित गर्नु हुँदैन। यसको सम्मान गर्न र स्वीकार गर्न जरुरी छ।’
यसअघि पदाधिकारी बैठकमा शाक्यले अध्यक्ष समेत सबै पदाधिकारीले राजीनामा दिनुपर्ने प्रस्ताव राखेकी थिइन्। तर, केन्द्रीय समिति बैठकमा उनले राजीनामा सम्बन्धी कुरा उठाएकी छैनन्।
उक्त बैठकमा अध्यक्ष ओलीले आगामी मंसिर २७-२९ गते पोखरामा पार्टीको १५औँ महाधिवेशन आयोजना गर्ने प्रस्ताव पनि पेस गरेका छन्। बैठकमा पार्टीभित्रको वर्तमान राजनीतिक अवस्था, आन्दोलनका प्रभाव र आगामी रणनीति सम्बन्धी छलफल जारी रहेको छ।
प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार












प्रतिक्रिया