काठमाडौं । लामो समयदेखि बाँकी रहेका डेडिकेटेड र ट्रङ्कलाइन विद्युत् महसुल तिर्न उद्योगहरूले अन्ततः रकम बुझाउन सुरु गरेका छन् । नेपाल विद्युत् प्राधिकरणले पटक–पटक गरेको चेतावनी र ताकेतापछि पाँच उद्योगले शुक्रबारदेखि किस्ताबन्दीमा बक्यौता बुझाउन थालेका हुन् ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार हामा आइरन एन्ड स्टिल इन्डस्ट्रिज ले कुल पाँच करोड ८५ लाख बक्यौतामध्ये पहिलो किस्ताबापत २० लाख ९० हजार रुपैयाँ बुझाएको छ।

advertisement

त्यस्तै, यसअघि केही किस्ता बुझाएर रोकेको लक्ष्मी स्टिल ले पुनः ८४ लाख ९८ हजार रुपैयाँ तिरेको छ भने सर्वोत्तम सिमेन्ट ले पनि ४० लाख रुपैयाँ बुझाएको प्राधिकरणले जनाएको छ।

बाराको सिमरास्थित हुलास स्टिल इन्डस्ट्रिज ले २०७२ माघदेखि २०७५ वैशाखसम्मको प्रिमियम महसुल बक्यौता १४ करोड १२ लाखलाई २८ किस्तामा बुझाउने सहमति प्राप्त गरेको छ। उद्योगले पहिलो किस्ताबापत ५० लाख ४३ हजार रुपैयाँ शुक्रबार बुझाएको हो।

यस्तै, सिमराकै अशोक स्टिल ले १७ करोड ५८ लाख बक्यौता रकमलाई किस्ताबन्दीमा तिर्ने व्यवस्था मिलाउँदै पहिलो किस्ताबापत ६३ लाख रुपैयाँ बुझाएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेपछि कुलमान घिसिङले डेडिकेटेड ट्रङ्कलाइनको बक्यौता उठाउने निर्णयलाई पहिलो प्राथमिकता दिएका थिए। प्राधिकरणको निरन्तर पहलपछि उद्योगहरूले रकम बुझाउने प्रक्रिया सुरु गरेसँगै लामो समयदेखि रोकिएको बक्यौता असुली अभियानले गति लिएको प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com