काठमाडौं। बारा र पर्सा जिल्लामा हैजाविरुद्धको खोप अभियानअन्तर्गत हालसम्म कुल लक्षित जनसंख्याको करिब ७१ प्रतिशतले खोप लगाइसकेका छन्।

स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार दुई जिल्लामा लक्षित १० लाख १८ हजार ६० जनामध्ये सात लाख २३ हजार ८३६ जनाले खोप लिइसकेका छन्।

advertisement

उनका अनुसार पर्सा जिल्लामा अभियान सुरु भएको छैटौँ दिनसम्ममा ६ लाख ५२ हजार १२९ जनालाई लक्षित गरी चार लाख ५६ हजार ७७८ जनाले खोप लिइसकेका छन्। त्यसैगरी बारामा ३ लाख ६५ हजार ९३१ जनामध्ये २ लाख ६७ हजार ५८ जनाले खोप लगाएका छन्।

पर्सामा फैलिएको हैजा संक्रमण नियन्त्रणका लागि त्यहाँका सबै स्थानीय तहमा खोप अभियान सञ्चालन गरिएको छ। साथै, पर्सासँग सीमा जोडिएका बाराका छ स्थानीय तह -कलैया उपमहानगरपालिका, जितपुर-सिमरा उपमहानगरपालिका, परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुर गाउँपालिकामा पनि एक वर्षमाथिका सबै नागरिकलाई खोप दिइँदै छ।

पर्सामा असोज २६ गते र बारामा असोज २७ गतेदेखि सुरु गरिएको यो अभियान सबै स्थानीय तहमा सक्रिय रूपमा सञ्चालन भइरहेको डा. गौतमले बताए। उनका अनुसार अभियान भोलिसम्म निरन्तर सञ्चालन गरिनेछ र बाँकी जनसंख्या अनुसार तिहारपछि दोस्रो चरण सुरु गर्ने तयारी भइरहेको छ।

नेपाल सरकारले पर्सा र बारामा देखिएको हैजा महामारीको जोखिमलाई मध्यनजर गर्दै खोप अभियान सञ्चालन गरेको हो। सरकारी तथा गैरसरकारी संस्थाहरूको सहकार्यमा स्थानीय खोप केन्द्र, विद्यालय, मन्दिर, मस्जिद, बसपार्क, नेपाल–भारत सिमानाका नाका, उद्योग, कारखाना र इँट्टाभट्टाजस्ता स्थानहरूमा खोप सेवा उपलब्ध गराइँदै आएको छ।

प्रकाशित मिति: १ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com