काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कुनै पनि क्रान्तिमा मित्र र शत्रु छुट्याउन नसक्दा उपलब्धि संस्थागत गर्न नसकिने भन्दै क्रान्तिकारी शक्तिहरूलाई सतर्क रहन आह्वान गरेका छन्।

काठमाडौँस्थित पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा आयोजित शुभ दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा आयोजित चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा सम्बोधन गर्दै संयोजक प्रचण्डले भने, क्रान्तिमा सबैभन्दा जरुरी कुरा भनेको आफ्नो मित्र र शत्रु छुट्याउन जान्नु हो। दुश्मनलाई साथी ठानियो भने क्रान्ति असफल हुन्छ।

advertisement

उनले जनताको हक, अधिकार र न्यायका लागि लड्नेहरूलाई विगतमा पनि ‘आतंककारी’ भन्ने प्रवृत्ति रहेको स्मरण गर्दै भने, हामीलाई पनि त्यस्तै भनिएको थियो। आज फेरि उत्पीडितका पक्षमा बोल्नेहरूलाई त्यही आरोप लगाइन्छ। यस्तो प्रवृत्तिबाट सावधान रहनुपर्छ।

प्रचण्डले जेनेरेसन–जेड (Gen Z) का युवाहरूप्रति पनि सम्बोधन गर्दै भने, २३ गतेको आन्दोलनले देखाएको छ — युवाहरूले आफ्नो राजनीतिक अस्तित्व प्रमाणित गरिसकेका छन्। उनीहरू अरूका होइनन्, क्रान्तिकारी आन्दोलनका उत्तराधिकारी हुन्।

उनका अनुसार देश अहिले जटिल राजनीतिक मोडमा रहेको र संविधान तथा लोकतन्त्र जोगाउन सबै राष्ट्रवादी, लोकतान्त्रिक र क्रान्तिकारी शक्तिहरूबीच एकता अपरिहार्य छ। “संविधान जोगाउने सबैभन्दा सहज र लोकतान्त्रिक बाटो भनेकै आगामी माघ २१ गते हुने निर्वाचन हो,’उनले भने, “यो निर्वाचन सफल बनाउन सबै दल, नागरिक समाज, बुद्धिजीवी र सञ्चारकर्मीहरू एकजुट हुनुपर्छ।’

संयोजक प्रचण्डले वर्तमान संविधान केही हदसम्म बाटोभुलेको उल्लेख गर्दै त्यसलाई सुधार्ने उपाय संविधान संशोधन रहेको बताए। ‘निर्वाचनबाट आउने नयाँ संसदले संविधान परिमार्जनको प्रक्रिया अघि बढाउनेछ। जनताको अपेक्षा पूरा गर्न हामी तयार छौं,’ उनले स्पष्ट पारे।

उनले संसद पटक–पटक विघटन गर्नेहरूले अहिले संसद पुनःस्थापनाको कुरा गर्नु ‘विडम्बनापूर्ण’ भएको टिप्पणी गर्दै भने, ‘ओली प्रधानमन्त्री हुँदा संसद विघटन भयो, राष्ट्रपतिको भूमिकाले संकट झनै गहिरियो। अहिले त्यही समूह संसदको कुरा गर्छ,यो हास्यास्पद हो।’

समाजवादी मोर्चामा आबद्ध वाम शक्तिहरूबीच चाँडै औपचारिक एकता घोषणा हुने संकेत गर्दै प्रचण्डले थपे, ‘हामीले व्यापक वाम एकताको आवश्यकता महसुस गरेका छौं। तर राष्ट्रिय संकट समाधानका लागि लोकतान्त्रिक र राष्ट्रवादी सबै शक्तिहरूको सहकार्य पनि अपरिहार्य छ।’

उनले आधुनिक प्रविधि र युवाको क्षमता राजनीतिक रूपान्तरणमा प्रयोग गर्नुपर्नेमा जोड दिँदै भने, ‘यदि तपाईंहरूको प्रविधिक सीप र हाम्रो राजनीतिक अनुभव जोड्न सक्यौं भने, कुनै शक्ति हामीलाई रोक्न सक्दैन।’

अन्तरिम सरकार (सुशिला कार्की नेतृत्वमा) निर्वाचन गर्न गम्भीर रहेको बताउँदै उनले अन्तर्राष्ट्रिय समुदायले पनि निर्वाचन सफल बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे।

प्रचण्डले अन्त्यमा राष्ट्रिय सहमति र सहकार्यका आधारमा अघि बढ्न सबैलाई आह्वान गर्दै भने, ‘देशको भविष्य सुनिश्चित गर्न सबैले मिलेर काम गर्नुपर्छ। निराश हुने कारण छैन — हामीले संघर्ष गरेर पाएको उपलब्धि बचाउन र अघि बढाउन अब सबैले जिम्मेवारी लिनुपर्छ।’

कार्यक्रममा माओवादी केन्द्रका नेता, ट्रेड युनियनका प्रतिनिधि, बुद्धिजीवी, पत्रकार र युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रकाशित मिति: १ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com