काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेन–जी आन्दोलनका अगुवाहरुलाई आफ्नो सच्चा मित्र र विरोधी छुट्याउन आग्रह गरेका छन्।
शनिबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले जेन–जी आन्दोलनले भावनात्मक रूपमा ठूलो जनसमर्थन पाएको भए पनि त्यसलाई गलत ढंगले व्याख्या गर्न खोजिने खतरा रहेको बताएका हुन्।
‘आफ्नो सच्चा मित्र र दुष्मन पहिचान गर्न सक्नुपर्छ,’ उनले भने, ‘जो तपाईंहरूलाई माया गर्छन्, तपाईंहरूको मुद्दा बुझ्छन् — ती पहिचान गर्न जरुरी छ। अब समय गम्भीर आत्मसमीक्षाको हो।’
प्रचण्डले केही शक्तिहरूले जेन–जी आन्दोलनलाई ‘आतंककारी’ भन्दै भ्रम फैलाउने प्रयास गरिरहेको आरोप लगाए। ‘हिजो हामी जनताको पक्षमा उभिँदा हामीलाई पनि आतंककारी भनिन्थ्यो,’ उनले स्मरण गरे, ‘आज तपाईंहरूलाई त्यही विशेषण दिइँदैछ, जसले हामीलाई पनि चसक्क बनाउँछ।’
उनले जेन–जी युवाहरूका मागहरू न्यायोचित र सकारात्मक भएको भन्दै आन्दोलनका क्रममा नै आफूहरूले सरकारलाई खबरदारी गरेको दाबी गरे। ‘तपाईंहरूको पक्षमा सबैभन्दा पहिले आवाज उठाउने पार्टी माओवादी नै हो,’ प्रचण्डले भने, ‘भदौ २३ गते दमन हुँदा हामीले तुरुन्तै विरोध गर्यौं र तत्कालीन प्रधानमन्त्रीको राजीनामा माग्ने पहिलो पार्टी पनि हामी नै थियौं।’
प्रचण्डले माओवादी केन्द्र निरन्तर सुशासन, पारदर्शिता र भ्रष्टाचार न्यूनीकरणका पक्षमा प्रतिबद्ध रहेको र सत्ताबाहिर रहँदा पनि सरकारलाई निरन्तर सचेत गराइरहेको बताए।
प्रकाशित मिति: १ कार्तिक २०८२, शनिबार













प्रतिक्रिया