काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महाधिवेशन आयोजन समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको सिफारिसपत्र आफूले नै हेरेको दाबी गरेका छन्।
शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा आयोजित चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै प्रचण्डले उक्त दाबी पुनः दोहोर्याएका हुन्।
उनका अनुसार ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन लेखित रूपमा सिफारिस पठाएका थिए।
‘हामीले उहाँले पठाएको चिठी हेरेका छौं,’ प्रचण्डले भने, ‘त्यो पत्रमा प्रधानमन्त्री बनाउने सिफारिस उहाँकै हस्ताक्षरमा गएको थियो।’
यसअघि असोज २४ गते सम्पादकहरूसँगको भेटमा पनि प्रचण्डले सोही दाबी गरेका थिए। शनिबारको कार्यक्रममा उनले पुनः सो कुरा दोहोर्याउँदै भने, ‘अब त्यो कुरा लुकाउने केही छैन, हामीले प्रमाणसहित हेरेका छौं।’
भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री ओलीले राजीनामा दिएपछि सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीका रूपमा नियुक्त गरिएको थियो।
राष्ट्रपति कार्यालयले भदौ २७ गते जारी गरेको विज्ञप्तिमा पनि तत्कालीन प्रधानमन्त्रीको सिफारिस र सम्मतिको आधारमा कार्कीलाई नियुक्त गरिएको उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘मुलुकमा उत्पन्न असाधारण परिस्थितिलाई सम्बोधन गर्दै, प्रधानमन्त्रीको सिफारिस र सम्मतिको आधारमा सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरिएको हो।’
यद्यपि, उक्त सिफारिसपत्र सार्वजनिक भइसकेको छैन। प्रचण्डले भने उक्त पत्र आफू र आफ्ना सहकर्मीहरूले प्रत्यक्ष रूपमा हेरेको दाबी गरेका छन्।

प्रकाशित मिति: १ कार्तिक २०८२, शनिबार













प्रतिक्रिया