काठमाडौं । आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको च्याम्पियन बनेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज ओमानबाट संयुक्त अरब इमिरेट्स (युएई) पुगेको छ।
छनोट प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको भोलिपल्टै नेपाल विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा सहभागी हुन दुबई आएको हो। यस सिरिजमा नेपालसँगै आयोजक युएई र अमेरिका प्रतिस्पर्धामा छन्।
लिग–२ को यो श्रृंखला अक्टोबर २६ बाट सुरु हुनेछ। पहिलो खेलमा नेपालले अमेरिकासँग भिड्नेछ। प्रत्येक टोलीले एकअर्काविरुद्ध दुई–दुई पटक प्रतिस्पर्धा गर्नेछ।
हालसम्मको अंकतालिकाअनुसार ८ टोली सहभागी लिग–२ मा अमेरिकाले २० खेलबाट २८ अंकसहित दोस्रो स्थानमा छ। नेपालले १६ खेलबाट १२ अंक जोड्दै सातौं स्थानमा रहेको छ भने युएई ६ अंकसहित पुछारमा छ।
यसअघि नेपालले युएईमै टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक टी–२० सिरिज २–१ ले जितेको थियो। त्यसपछि टोली ओमान पुगेको थियो, जहाँ टी–२० विश्वकप छनोटमा शानदार प्रदर्शन गर्दै नेपालले उपाधि हात पारेको हो।
प्रकाशित मिति: १ कार्तिक २०८२, शनिबार












प्रतिक्रिया