काठमाडौं । जेन-जी आन्दोलनका अगुवा मिराज ढुंगाना नेतृत्वको समूहले प्रत्यक्ष कार्यकारी प्रणालीको माग पूरा नभएसम्म आगामी निर्वाचनमा भाग नलिने घोषणा गरेको छ।
शनिबार नयाँ बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमार्फत समूहले आफ्नो राजनीतिक एजेन्डा सार्वजनिक गर्दै प्रत्यक्ष कार्यकारी शासन व्यवस्था र विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिलाउने व्यवस्था सुनिश्चित नभएसम्म चुनावमा सहभागी नहुने स्पष्ट गरेको हो।
ढुंगानाले जेन-जी आन्दोलनलाई दीर्घकालीन राजनीतिक रूप दिनका लागि नयाँ दल गठनको तयारी भइरहेको जानकारी दिँदै भने, ‘भ्रष्टाचार नियन्त्रण, सुशासन र आर्थिक रुपान्तरण हाम्रो प्रमुख एजेन्डा हुन्। जेनजीको बलिदान खेर जान दिने छैनौं।’
उनका अनुसार भ्रष्टाचार नियन्त्रणका लागि नागरिकस्तरमै छानबिन समिति गठन गर्नुपर्ने र आर्थिक रुपान्तरणका लागि ठोस नीति आवश्यक छ। उनले देश विकासका लागि सामूहिक प्रतिबद्धता र सहकार्यको आवश्यकता औंल्याउँदै सबैलाई साझा समृद्धिका लक्ष्यमा जोडिन आग्रह गरे।
ढुंगानाले स्वदेशमै रोजगारीका अवसर नहुँदा लाखौं युवा विदेशिन बाध्य भएको र यसले देशको अर्थतन्त्र कमजोर बनाएको उल्लेख गर्दै सरकारलाई जिम्मेवार बन्न चेतावनी दिए। ‘बन्द कलकारखाना पुनः सञ्चालन गर्नुपर्छ, रोजगारी सिर्जना र पर्यटन प्रवर्द्धनमा ठोस कदम चालिनुपर्छ,’ उनले भने।
छिमेकी भारत र चीनजस्ता विशाल बजारलाई लक्षित गरी उत्पादन र निर्यात वृद्धि गर्नुपर्नेमा समेत उनले जोड दिए। पार्टीको नामबारे सुझाव संकलन भइरहेको बताउँदै ढुंगानाले जनताको विश्वासमा आधारित नयाँ राजनीतिक विकल्पको निर्माण गर्ने प्रतिबद्धता दोहोर्याए।
प्रकाशित मिति: १ कार्तिक २०८२, शनिबार












प्रतिक्रिया