काठमाडौं । गम्भीर व्यवसायिक विवादमा फसेको एउटा चिनियाँ गाडी अदालतको आदेशलाई समेत छल्दै आयात गरेर बजारमा ल्याएपछि अन्ततः गाडी खरिदकर्ता डुब्ने अवस्था सिर्जना भएको छ।
२०८२ श्रावन १५ गते उच्च अदालत पाटनले केवाइसी गाडी (साविक सीजी मोटर्स बाहेक अन्य कम्पनी मार्फत आयात भएका बाहेक) आयात नगर्नु भनी दिएको आदेश उलंघन गर्दै केवाइसी गाडीको नाम ‘नियोसिया/स्टार भी इभी’ बनाएर अदालतको मानहानी गर्दै उक्त गाडी आयात गरिएको छ । यस विषयमा भन्सार विभागका कर्मचारीहरुले समेत नजरअन्दाज गरेको देखिन्छ।
केवाइसी इलेक्ट्रिक माइक्रोबस सीजी मोटर्सले आयात गर्दै आएको छ । सीजी मोटर्सले देशभर बिक्री, सेवा केन्द्र र चार्जिङ सुविधा विस्तार गर्दै सार्वजनिक यातायातमा किफायती र स्वच्छ यात्राको नयाँ सुरुवात गरेका थियो। तर, समय बित्दै जादा केवाइसी गाडीको आधिकारीक विक्रेता हत्याउन अनेक खेल भएको छ।
यस क्रममा इलेक्ट्रिक ड्रीम्स मोबिलिटी प्रालिका नाममा केवाइसी गाडी आयात गर्न खोजिएको थियो । तर, अदालतले उक्त कम्पनी मार्फत केवाइसी गाडी आयात गर्न रोक्का गरिदिएपछि सो समुहले अदालतको आदेश छल्न अर्को कम्पनी खडा गरेका छन् जसको नाम हो ‘एम्बर मोटर्स प्राइभेट लिमिटेड’ । अचम्मको कुरा त एम्बर मोटर्सका सञ्चालकहरू पहिलेका उही इलेक्ट्रिक ड्रीम्स मोबिलिटीका व्यक्तिहरु नै रहेको खुलासा भएको छ । हाल एम्बर मोटर्सले अदालतले आयात गर्न प्रतिबन्ध लगाएको गाडी नाम फेरेर अदालतलाई नै झुक्याएर आयात तथा विक्री वितरण गर्ने गैरकानुनी कोशिसमा छ।
अदालतको मानहानी गर्ने उक्त कम्पनी भविष्यमा गम्भीर कानुनी संकटमा पर्ने देखिन्छ जसले गर्दा उक्त गाडीका खरिदकर्ता समस्यामा पर्ने निश्चित छ।
केवाइसीको उत्पादक कम्पनी चोंगकुइंग चाइनाले समेत केवाइसीको नाम परिवर्तन गरी नियोसिया राखेको पुष्टि भएको छ । गाडीको मोडेल, बनावट र फिचर्स उही रहे पनि नाम परिवर्तनले बौद्धिक सम्पत्ति अधिकार र अन्तरदेशीय व्यापार नियमनबारे नयाँ विवाद खडा गरेको छ।
नेपाल उद्योग परिसंघका एक पदाधिकारीका अनुसार, “यदि कुनै कम्पनीले अदालतको निर्णयपछि उही व्यवसाय नयाँ नाममा दोहोर्याउँछ भने यो कानुनी शासनका लागि खतरनाक उदाहरण हो ।” उनका अनुसार यस्ता घटनाले विदेशी लगानीकर्ता र स्थानीय उद्यमी दुवैको विश्वासमा असर पार्ने देखिन्छ ।
प्रकाशित मिति: २ कार्तिक २०८२, आइतबार













प्रतिक्रिया