एजेन्सी ।  जनवादी गणतन्त्र चीनले अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) माथि आफ्नो राष्ट्रिय समय केन्द्रमा साइबर आक्रमण गरेको गम्भीर आरोप लगाएको छ ।

चीनको राज्य सुरक्षा मन्त्रालयले आइतबार सार्वजनिक गरेको वक्तव्यमा यस आक्रमणले देशको नेटवर्क सञ्चार, वित्तीय प्रणाली र विद्युत् आपूर्तिमा समेत अवरोध पुर्‍याउने सम्भावना रहेको उल्लेख छ ।

advertisement

मन्त्रालयका अनुसार सन् २०२२ मा अमेरिकी एजेन्सीले विदेशी मोबाइल फोन ब्रान्डको सन्देश सेवामा रहेको कमजोरीको फाइदा उठाई राष्ट्रिय समय सेवा केन्द्रका कर्मचारीहरूको उपकरणबाट संवेदनशील सूचना चोरी गरेको थियो । तर मन्त्रालयले उक्त मोबाइल ब्रान्डको नाम खुलाएको छैन ।

त्यसैगरी एनएसएले केन्द्रका विभिन्न आन्तरिक नेटवर्क प्रणालीहरूलाई लक्षित गर्दै ४२ प्रकारका ‘विशेष साइबर हतियार’ प्रयोग गरेको र सन् २०२३ देखि २०२४ सम्म एक प्रमुख समय प्रणालीमा घुसपैठ गर्ने प्रयाससमेत गरेको चीनको भनाइ छ । उक्त जानकारी मन्त्रालयले चिनियाँ सामाजिक सञ्जाल विच्याटमा प्रकाशित गरेको थियो ।

वक्तव्यमा मन्त्रालयले आफूसँग प्रमाण रहेको दाबी गरे पनि ती प्रमाणहरू पोस्टमा सार्वजनिक गरिएको छैन । चीनको राष्ट्रिय समय सेवा केन्द्रले सञ्चार, वित्त, ऊर्जा, यातायात र रक्षा जस्ता प्रमुख क्षेत्रमा समय मापन तथा वितरण सेवा प्रदान गर्दै आएको छ । मन्त्रालयले जोखिम न्यूनीकरणका लागि केन्द्रलाई विशेष सावधानी अपनाउन निर्देशन दिएको जनाएको छ ।

‘अमेरिकाले अरूलाई निरन्तर दोष लगाउँदै आफ्नै कार्यलाई ढाकछोप गर्न खोज्दै आएको छ । उसले बारम्बार चीनमाथि साइबर आक्रमणका झूट्टा आरोपहरू लगाइरहेको छ’, मन्त्रालयको वक्तव्यमा भनिएको छ ।

यसअघि पनि पश्चिमी मुलुकहरूले चीनसँग सम्बन्धित ह्याकरहरूले सरकारी निकाय, सञ्चार माध्यम, व्यापारिक संस्था तथा अन्य संवेदनशील क्षेत्रहरूमा आक्रमण गरेको दाबी गर्दै आएका छन् । तर यसपटक चीनको वक्तव्यले व्यापार, प्रविधि र ताइवानसम्बन्धी विवादमा वासिङ्टन र बेइजिङबीचको तनाव अझ तीव्र बनाउन सक्ने सङ्केत देखाएको छ ।

अमेरिकी दूतावासले भने चीनको यो आरोपबारे कुनै प्रतिक्रिया जनाएको छैन ।

चिनियाँ वक्तव्यले अमेरिकालाई नै विश्वभर साइबर आक्रमणको सबैभन्दा सक्रिय र स्थायी स्रोतका रूपमा चित्रित गरेको छ ।

 

प्रकाशित मिति: ३ कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com