शरदको एक साँझ थियो, पश्चिमतिर अस्ताउँदै गरेको घामको मन्द सुनौलो रङले घरभित्रको न्यानोपन अझै बढाइरहेको थियो। एउटी दिदी परदेशको ठाउँमा, आफ्नो कोठाको एउटा कुनामा बसिरहेकी थिइन्। उनको अगाडि एउटा सानो टेबल थियो, जसमा दियो राखिएको थियो। उनले दियोमा बत्ती बालिन्। हल्का उज्यालोले कोठाको शान्त वातावरणमा जीवनको आभास ल्यायो।
तर, केहि समय भयो, मनमा खुशि छैन । हुन त परदेशमा बसेका नेपालीलाई चाडपर्व आए पछि त्यसै गाँउघर, परिवारको याद आउदो रहेछ । तिहार मुखैमा छ, तर मेरो भाई कुन संसारमा छ, केहि थाहा छैन? केहि समय अगाडि ‘यो तिहारमा त जसरी पनि आइज ल दिदि, मलाई त बाहेक अरुको हातबाट टिका लगाउन मनै लाग्दैन्’ भन्दै थियो। तर दियोको उज्यालोले केहि उज्यालोको आभास गराए पनि मनमा भने अन्धकार नै छ।
त्यो दियोको उज्यालोमा देखिने अर्को चीज थियो—एक १७ वर्षे युवकको फोटो। फोटोमा देखिएको अनुहार साहसी थियो, आत्मविश्वासले भरिएको, तर अब निश्चल। त्यो उनका भाइ थिए, जुन अहिले स्मृतिमा मात्र बाँकी थिए। उसको प्राण थिए म, मेरो प्राण थियो उ । आमाबाको कुरा नमान्ने मेरो भाई, मेरो सबै कुरा मान्थियो। तर आज मेरो भाई म सगँ थिएन्।
दियोको उज्यालोमा फोटोको अनुहार टल्कँदै गर्दा, त्यो उज्यालोबाटै जस्तो लाग्ने आवाजको छायामा दिदीको अनुहार खुल्यो। उनका आँखामा हल्का चमक थियो, तर त्यही चमकभित्र गहिरो पीडा मिसिएको थियो।
‘थाहा छैन भाइ,’ उनी मन्द स्वरमा बोलिन्, ‘मैले कुन जुनीमा यस्तो राम्रो काम गरेँ होला, जो तिमी जस्तो बहादुर भाइ पाएँ। भ्रष्टाचार र बेरोजगारीको पीडाले मैले देश छोडेँ, तर तिमीले त्यसै विषयमा आवाज उठाउँदै संसार छोड्यौ।’
उनको स्वर भारी हुँदै गयो। ‘आज त शहीद भइस्, र म बनें एक परदेशीएको नेपाली नागरिक। म आफ्नो सन्तानलाई सुरक्षित भविष्यका लागि विदेशमा राख्न खोजिरहेकी छु, तर तिमीले आफ्ना सन्तानहरूका लागि देशमै रहनुपर्ने सन्देश दिईस्।’
उनले हल्का सास फेरेर फोटोतर्फ हेर्दै भनिन्, ‘हजुरबा, बा, काका—सबैले आन्दोलन गरे। तिमीले पनि गर्यौ। आन्दोलनले हामीलाई हरेकपटक क्षणिक आशा दियो, तर परिवर्तन स्थायी हुन सकेन। स्वार्थ, नातावाद, व्यक्तिवाद—सबै यथावत् रह्यो।’
उनको आँखाबाट आसुको थोपा टल्कियो।
‘तर यसपालीको भाइटीकामा, म केवल यही चाहन्छु—मेरो भाइको रगतमा कोही ननाचोस्। तिमीले जुन पवित्र उद्देश्यका लागि प्राण अर्पण गर्यौ, त्यो अब कसैको भाइले दोहोर्याउन नपरोस्।’
त्यो वाक्यसँगै कोठाभित्र मौनता छायो। हावा पनि निस्सासिएझैँ लाग्यो। टिलिपिल आशुले आँखाको किनारा छोड्दै गए। माहोल सुन्य भयो।
त्यही बेला पछाडिबाट कसैले उनको आँखामा हात राख्यो। उनी झसङ्ग भइन्। हात हटाएर पछाडि फर्किन्।
त्यो हेराई सगैँ उनी भित्रको सुन्यता कम हुदै गयो। उनको नजरले ठम्याउँदै रोकियो—त्यहाँ उनका भाइ उभिएका थिए। त्यही अनुहार, त्यही हाँसो, तर अब अलौकिक शान्ति भित्रिएको।
‘दिदी,’ भाइको स्वर कोमल तर गहिरो थियो, ‘मलाई यस्तो आशिष नदेऊ, जुन पूरा हुनै गाह्रो छ। बन्दुकको गोली लाग्दा मेरो शरीरका रगतका थोपा-थोपा छुट्टिए, जसरी मेरा साथीहरू पनि छुट्टिए।’
दिदी छक्क परिन्। ‘किन भाइ, तिमी यो क्रान्तिबाट खुशी छैनौ र?’
भाइको अनुहारमा हल्का मुस्कान आयो—“खुशी नहुनु त होइन दिदी, तर सोचेको भन्दा फरक भयो। हामीले चाहेको त भ्रष्टाचारमुक्त, सुशासन थियो। हामी राजनीतिकर्मी होइन, चेतनशील नागरिक बन्ने सपना बोकेका थियौँ। तर सबै राजनीति गर्ने भए।’
दिदीले भावुक स्वरमा भनिन्, ‘तर राजनीति त जान्नु राम्रो कुरा हो भाइ, तिमीहरूलाई राम्रो लागेन र?’
भाइ हाँसे—‘राजनीति जान्नु नराम्रो होइन, दिदी। तर पुरानै सोच बोकेर आउने नयाँ पुस्ता अर्को द्वन्द्वको बीउ रोप्दै छ। दोषी जोसुकै होस्—जेन-जि वा पुरानो नेता—कानुनको शासन बराबर हुनुपर्छ। तर यहाँ सबको आडभरोसा उस्तै छ, अपराधी पनि राजनीतिमा नायक बन्ने दौडमा छन्।’
दिदी अलमलिइन्। ‘के भन्न खोज्दैछस् भाइ, मैले बुझिन।’
भाइको नजर टाढा कतै अडियो। ‘देश संकटको दिशातिर गइरहेको छ, दिदी। जसले हिजो भ्रष्टाचार अन्त्य गर्छु भन्थ्यो, आज सत्ता पाएपछि डर देखाउँदै शासन सिकाउँदैछ। चुनाव आउँदै छ—तर अपराधीहरू फेरि त्यही दौडमा छन्।’
दिदी हल्का तर्सिइन्—‘तर चुनाव त लोकतन्त्रको आत्मा हो, होइन र?’
भाइले निस्तब्ध हुँदै भने, ‘हो, चुनाव हुनुपर्छ। तर चुनाव अघि न्याय हुनुपर्छ। अपराधी र भ्रष्टलाई कारबाही नगरी चुनाव गरिए—फेरि पुरानै पात्र सत्तामा फर्किन्छन्।’
दिदीको आँखामा दृढता झल्कियो—‘त नडर भाइ, म त्यस्तो हुन दिन्न।’
भाइको अनुहारमा हल्का मुस्कान फर्कियो। ‘साँचिकै विश्वास गर्न सक्छु दिदी? तिमी फर्किन्छ्यौ नेपाल? लड्छ्यौ तिनिहरूसँग?’
दिदी मौन भइन्। उनको मनभित्र प्रश्नहरू उठ्न थाले। उनले देश सम्झिइन्—त्यो माटो, त्यो गन्ध, त्यो अपमानित सत्य।
भाइले विस्तारै भन्यो, ‘छोड् दिदी, बुझ्छु म तिम्रो अवस्था। देश छाडेकालाई देशको माया लाग्छ, तर फर्कन डर लाग्छ। अब त्यो देशलाई कस्ले बचाउछ? बरु मलाई एउटै आशिष देऊ—अब कुनै भाइले भ्रष्टाचार गर्नकै लागि सरकारी जागिर खान नपरोस्। कुनै भाइले सेवासुविधाका लागि कसैको कार्यकर्ता बन्न नपरोस्। र कुनै भाइले अरूको विरोधमा ठूलो स्वरमा चिच्याउँदै आफ्नै कर्तव्य नबिर्सोस्।’
दिदी स्तब्ध भइन्। भाइको स्वर विस्तारै हरायो, जसरी हावा आभाव छ तर उसको रुप, रङ्ग केहि छैन।त्यसैगरि भाई पनि विलिन भयो। उनले चारैतिर हेर्दै भनिन्, ‘के साँच्चै नेपाल जानै पर्ने समय आएको हो त? तर गएर म के गर्न सक्छु?’
उनको अनुहारमा दोधार थियो—भित्र लडिरहेको मन, बाहिर मौनताले बाँधिएको शरीर।
दियो अझै बलिरहेको थियो, तर त्यसको उज्यालोमा अब केवल एक खाली कुर्सी देखिन्थ्यो—र एउटा प्रश्न, जुन हावामा अझै गुञ्जिरहेको थियो— ‘देशलाई बचाउने जिम्मा आखिर कसको हो?’
प्रकाशित मिति: ३ कार्तिक २०८२, सोमबार













प्रतिक्रिया