सिन्धुली । सिन्धुलीकाे कमलामाई नगरपालिका–६ पानीटंकीमा घरायसी विवादका क्रममा श्रीमतीको ढुंगाप्रहारबाट श्रीमानको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार ५५ वर्षीय बुद्धसिं वाइबामाथि उनकी ४८ वर्षीया श्रीमती राधिका वाइबाले कात्तिक १ गते ढुंगाले टाउकोमा प्रहार गरेकी थिइन् । गम्भीर घाइते भएका बुद्धसिंलाई प्रारम्भिक उपचारका लागि सिन्धुली अस्पताल र त्यहाँबाट थप उपचारका लागि बाँसबारी न्युरो अस्पताल, काठमाडौं पुर्याइएको थियो ।
तर चिकित्सकहरूले थप उपचार सम्भव नभएको भन्दै उनलाई घर फिर्ता पठाएका थिए । त्यसपछि उनी सिराहा जिल्लाको कर्जन्हा नगरपालिका–५ स्थित ससुरालीमा बसोबास गर्दै आएका थिए । मंगलबार बिहान उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरीले श्रीमती राधिकालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।
प्रकाशित मिति: ४ कार्तिक २०८२, मंगलबार













प्रतिक्रिया