काठमाडौं । पूर्व प्रधानन्यायाधीश एवं वर्तमान प्रधानमन्त्री सुशीला कार्कीको नैतिकता र संवैधानिक पात्रता बारे सार्वजनिक रूपमा प्रश्न उठाएपछि अधिवक्ता स्वागत नेपाललाई प्रहरीले नियन्त्रणमा लिन खोजेको खुलासा भएको छ ।

नेपालले सामाजिक सञ्जालमार्फत प्रहरीको साइबर ब्युरोबाट आफूलाई उपस्थित हुन भनिएको जानकारी दिएका हुन् । उनका अनुसार ब्युरोले फोनमार्फत सम्पर्क गरी बयानका लागि बोलाएको हो ।

advertisement

अधिवक्ता नेपालले संविधान अनुसार पूर्व प्रधानन्यायाधीश भइसकेको व्यक्तिले कार्यकारी प्रमुखको जिम्मेवारी लिनु संविधानविपरीत भएको दाबी गर्दै आएका छन् । उनले भनेका छन्, ‘स्वयं आफ्नो निर्णय र विज्ञप्तिको विपरीत, पूर्व प्रधानन्यायाधीश भएर पनि प्रधानमन्त्री बन्नु संविधानबाहिरको कदम हो — यो संसारकै ठूलो अनैतिकता हो ।’

उनले यसअघि पनि विभिन्न प्रधानमन्त्रीहरूका संविधानविपरीतका निर्णयबारे नैतिक प्रश्न उठाएको उल्लेख गर्दै अहिलेको सरकार त्यसभन्दा पनि बढी निरङ्कुशतापूर्ण ढंगले अघि बढेको आरोप लगाएका छन् । ‘जेनजी आन्दोलनले जायज माग उठाउँदा सुधारको प्रयास गर्नुको सट्टा सरकारले अभिव्यक्ति नियन्त्रण गर्न खोज्दा असन्तोष बढेको हो,’ उनले बताएका छन् ।

नेपालले प्रधानमन्त्री कार्कीले १० करोड रुपैयाँ घुसकाण्डको प्रसङ्ग सार्वजनिक गरेको विषय पनि पुनः उठाउने चेतावनी दिएका छन् । उनका अनुसार प्रहरीले फोन गर्दा आफूले ‘तिहार मनाउनुस्’ भन्ने जवाफ पाएको र चाडपर्वपछि पक्राउ गर्ने तयारी भइरहेको बुझिएको हो ।

संविधानको धारा ७६ अनुसार गैरसांसद व्यक्ति प्रधानमन्त्री बन्न सक्दैन भने धारा १३२(२) मा स्पष्ट रूपमा भनिएको छ — ‘प्रधानन्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीश भइसकेको व्यक्ति, संविधानमा अन्यथा उल्लेख नभएसम्म, कुनै पनि सरकारी पदका लागि योग्य हुनेछैन ।’

यस प्रावधानका आधारमा नेपालले प्रधानमन्त्री कार्कीको नियुक्तिलाई संवैधानिक र नैतिक दुवै दृष्टिले प्रश्न गर्न योग्य विषय ठहराएका छन् ।

प्रकाशित मिति: ४ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com