काठमाडौं । डेडिकेटेड र ट्रङ्कलाइन प्रयोग गरेर त्यसवापतको विद्युत् महशुल बक्यौता नतिर्ने छ वटा उद्योगको लाइन काटिएको छ ।

विद्युत् महशुल बक्यौता नतिर्ने जगदम्बा स्टील, रिलायन्स स्पीनिङ मिल्स, शिवम सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् लाइन काटिएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले राससलाई जानकारी दिए । प्रवक्ता ढकालका अनुसार आजबार बिहानबाट यी उद्योगहरुको विद्युत् लाइन काटिएको हो ।

advertisement

डेडिकेटेड र ट्रङ्कलाइनको विद्युत् महशुल उठाउने विषय २०७५ सालयता सुल्झिन सकेको छैन । प्राधिकरणका तत्कालिन सञ्चालक भक्तबहादुर पुनको संयोजकत्वमा पहिलोपटक डेडिकेटेड र ट्रङ्कलाइनको महशुल बक्यौताबारे अध्ययन भई २०७५ वैशाख ३१ गते बसेको सञ्चालक समितिमा पेश भएको थियो । त्यसपछि प्राधिकरणले बक्यौता उठाउने प्रयास गर्दै आएको छ ।

उद्योगी व्यवसायीहरुले भने आफुहरुले डेडिकेटेड र ट्रङ्कलाइन प्रयोग नै नगरेकाले त्यसको महशुल नतिर्ने बताउँदै आएका छन् । यो विषय विभिन्न अदालत, सङ्घीय संसदको सार्वजनिक लेखा समिति तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको थियो ।

पछिल्लो पटक प्राधिकरणले गत असोज १२ गते सार्वजनिक सूचना जारी गर्दै उद्योगलाई २१ दिनभित्र बक्यौता बुझाउन आउन भनेको थियो । किस्ताबन्दीमा बक्यौता तिर्ने सुविधा दिएको प्राधिकरणले सो अवधिसम्ममा बक्यौता तिर्न नआएपछि विद्युत् महशुल सङ्कलन नियमावली २०७८ अनुसार लाइन काटिएको जनाएको छ ।

डेडिकेटेड फिडर तथा ट्रङ्कलाइनमार्फत् विद्युत् उपभोग गरेवापत २०७२ माघदेखि २०७५ वैशाखसम्मको विद्युत् महशुल बक्यौता रहेका ग्राहकहरुलाई प्रशासकीय पुनरावलोकनका लागि २०८२ जेठ मसान्तभित्र निवेदन दिनसक्ने म्यादन कायम गरि २०८२ वैशाख २६ र वैशाख ३० मा सूचना प्रकाशित भएको थियो । गत असोज १० गते बसेको प्राधिकरणको सञ्चालन समितिले प्रशासकीय पुनरावलोकनसँग सम्बन्धित सम्पूर्ण काम कारबाही बदर गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: ४ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com