काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनपछिको अवस्थालाई सामान्यीकरण गरी आगामी फागुन २१ गते भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार दत्तचित्त भएर लागेको बताएकी छन्।

नेपाल संवत् नयाँ वर्ष ११४६ को अवसरमा नेपाल संवत् न्हूदँ संरक्षण समाजले आज वसन्तपुरमा आयोजना गरेको स्वागत कार्यक्रममा उनले आन्दोलनको बलमा बनेको यस नागरिक सरकारले प्राप्त जिम्मेवारीअनुरुप सम्पूर्ण नेपाली जनताको सहभागितासहित निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

advertisement

प्रधानमन्त्री कार्कीले भनेकी छन्, ‘प्रत्येक दिन राजनीतिक दलहरूसँग कुनै न कुनै रूपमा संवाद भइरहेको छ। परिवर्तनका बाहक ‘जेनजी पुस्ता’ का प्रतिनिधिहरूसँग पनि निरन्तर संवाद र सम्पर्कमा छौँ। निर्वाचन प्राथमिकतामा छ भन्नुको अर्थ भ्रष्टाचार र सुशासनका मुद्दामा मौन बसेका छौँ भन्ने होइन।’

उनले नेपालको संविधानको अधीनमा रही जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने मूल दायित्व पनि वर्तमान सरकारमाथि रहेको बताउँदै यसमा पनि परिणाम दिने गरी राज्यका संयन्त्रहरूबाट काम अघि बढिरहेको जानकारी गरेकी छन्।

उनले भ्रष्टाचार अन्त्यसहित सुशासन र निर्वाचनका पक्षमा जुटेको सरकारलाई नागरिक समाजको साथ सहयोग आवश्यक रहेको उल्लेख गरेकी छन्।समाजमा आपसी सद्भाव र एकता कायम गर्दै लोकतन्त्र जीवित राख्ने र भ्रष्टाचार नियन्त्रण गर्ने राष्ट्रिय अभिभारा पूरा गर्नका लागि पनि सबैसँग आह्वान गरेकी छन्।

प्रधानमन्त्री कार्कीले भनेकी छन्, ‘भ्रष्टाचार अन्त्यसहित विधिको शासन कायम गरी प्रतिनिधिसभाको निर्वाचन गराइ मुलुकलाई राजनीतिक निकास दिने मूल जिम्मेवारीका साथ अघि बढिरहेको वर्तमान सरकारलाई सबै राजनीतिक दल, नागरिक समाज, आम नेपाली जनताका तर्फबाट साथ, सहयोग प्राप्त हुने विश्वास लिएकी छु।’

  • रासस

प्रकाशित मिति: ५ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com