काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई वेस्ट बैंकमा कुनै पनि कदम चाल्न नदिने स्पष्ट चेतावनी दिएका छन् ।

इजरायली संसदले वेस्ट बैंकमा इजरायली कानुन लागू गर्ने प्रस्तावलाई प्रारम्भिक स्वीकृति दिएपछि ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो । वेस्ट बैंकलाई इजरायलमा गाभ्ने तयारीका रूपमा यो कदमलाई हेरिएको छ ।

advertisement

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भने, ‘वेस्ट बैंकको चिन्ता नगर्नुहोस्, इजरायलले त्यस क्षेत्रमा केही पनि गर्न पाउने छैन।’

यसै विषयमा प्रतिक्रिया दिँदै अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि ट्रम्पको नीति दोहोर्‍याए । उनले भने, ‘यदि यो कुनै राजनीतिक चाल हो भने यो मूर्खतापूर्ण कदम हो । राष्ट्रपति ट्रम्प वेस्ट बैंकलाई इजरायलमा मिलाउने प्रयासको विरोधमा दृढ रहनुहुन्छ।’

त्यस्तै, अमेरिकी विदेशमन्त्री मार्को रूबियोले वेस्ट बैंक गाभ्ने इजरायलको हालको कदमले ‘गाजा युद्धलाई अन्त्य गर्न तयार गरिएको ट्रम्प शान्ति योजनामा गम्भीर असर पार्न सक्छ’ भन्ने टिप्पणी गरे ।

वेस्ट बैंक के हो ?

वेस्ट बैंक मध्यपूर्वको अत्यन्त विवादित भूभाग हो, जुन इजरायल र जोर्डनको बीचमा पर्छ । जोर्डन नदीको पश्चिम किनारमा अवस्थित भएकाले यस क्षेत्रलाई ‘वेस्ट बैंक’ अर्थात् ‘पश्चिम किनारा’ भनिन्छ ।

प्यालेस्टिनीहरूले वेस्ट बैंकलाई आफ्नो भूमि मान्छन्, तर इजरायलले १९६७ को युद्धपछि यसमा सैन्य नियन्त्रण कायम गरेको छ । त्यसयता, इजरायलले यहाँ धेरै यहूदी बस्तीहरू निर्माण गरेको छ, जसलाई अन्तर्राष्ट्रिय समुदायले विवादास्पद ठान्दै आएको छ ।

यो क्षेत्र करिब ५,६४० वर्ग किलोमिटरमा फैलिएको छ र यहाँ करिब ३० लाख प्यालेस्टिनी बासिन्दा रहेका छन् । रामल्लाह, हेब्रोन, बेथलेहेम, नब्लस र जेरिको यस क्षेत्रका प्रमुख शहरहरू हुन् । हाल वेस्ट बैंकको केही भाग प्यालेस्टिनी प्रशासनको र केही भाग इजरायलको नियन्त्रणमा रहेको छ ।

प्रकाशित मिति: ७ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com