काठमाडाैं । भारतको आन्ध्र प्रदेशस्थित कुर्नूल जिल्लामा भयावह बस दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ भने धेरै जना गम्भीर घाइते भएका छन् । हैदराबादबाट बेंगलुरु जाँदै गरेको यात्रुबस शुक्रबार बिहान चिन्ना टेकुरु गाउँनजिक दुर्घटनाग्रस्त भई आगलागी हुँदा ठूलो जनधनको क्षति भएको हो ।
प्रारम्भिक जानकारी अनुसार बसमा ४२ जना यात्रु सवार थिए । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ ।
बीबीसी तेलुगुको रिपोर्टअनुसार दुर्घटना एउटा मोटरसाइकल बससँग ठोक्किँदा सुरु भएको मानिएको छ । मोटरसाइकल बसको अगाडिको भागमा अड्किँदा तेलको ट्याङ्की फुटेर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । तर स्थानीय प्रशासनले आगलागीको कारण औपचारिक रूपमा पुष्टि गरेको छैन ।
कुर्नूल रेन्जका डिप्टी इन्स्पेक्टर जनरल (डीआईजी) कोया प्रवीणका अनुसार दुर्घटनामा दुई बालबालिका र दुई चालकसहित १९ जना यात्रु जीवितै बच्न सफल भएका छन् । उनका अनुसार ‘सर्ट सर्किटका कारण बसको ढोका जाम भई यात्रुहरू फस्दा आगो छिट्टै फैलिएको’ प्रारम्भिक निष्कर्ष निकालिएको छ ।
मुख्यमन्त्री चन्द्रबाबु नायडूले घटनाप्रति गहिरो दुःख प्रकट गर्दै ट्वीटमा लेखेका छन्, ‘कुर्नूल जिल्लाको चिन्ना टेकुरु गाउँनजिक भएको भीषण बस आगलागीको समाचारले म अत्यन्त दुःखी छु । मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूलाई सरकारले सबै सम्भव सहयोग उपलब्ध गराउनेछ ।’
प्रहरीका अनुसार आगलागी केही मिनेटमै तीव्र रूपमा फैलिँदा बस पूर्ण रूपमा जलेर नष्ट भएको थियो । बाँचेका अधिकांश यात्रु २५ देखि ३५ वर्ष उमेर समूहका रहेका छन् ।
प्रकाशित मिति: ७ कार्तिक २०८२, शुक्रबार













प्रतिक्रिया