एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा अमेरिकी प्रतिबन्धको आलोचना गरेपछि प्रतिक्रिया दिँदै आगामी छ महिनाभित्र त्यसको प्रभाव स्पष्ट हुने बताएका छन् ।

रोजनेफ्ट र लुकोइलजस्ता रुसका ठूला तेल कम्पनीमाथि अमेरिकाले लगाएको प्रतिबन्धबारे पत्रकारहरूले सोध्दा राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा भने, ‘म खुसी छु कि उहाँ (पुटिन) ले त्यस्तो महसुस गरे । यो निर्णयले कसरी काम गर्छ भन्नेबारे अबको छ महिनामा हामी सबैले हेर्नेछौँ ।’

advertisement

रुसी राष्ट्रपति पुटिनले प्रतिबन्धहरूलाई ‘प्रतिकूल कदम’ भन्दै रुसको अर्थतन्त्रमा खासै असर नपार्ने दाबी गरेका थिए । उनले भनेका थिए, ‘यो निःस्सन्देह रुसमाथि दबाब दिने प्रयास हो, तर कुनै पनि आत्मसम्मान गर्ने देशले कहिल्यै दबाबमा निर्णय गर्दैन ।’

अमेरिकाको नयाँ प्रतिबन्धपछि विश्व बजारमा तेलको मूल्य तीव्र रूपमा बढेको छ, जसले व्यापारीहरूलाई आपूर्तिमा कमी आउने चिन्ता थपेको छ । यसैबीच पुटिनले अमेरिकी राष्ट्रपति ट्रम्पसँगको आगामी शिखर बैठक रद्द भएकोप्रति टिप्पणी गर्दै ‘द्वन्द्वभन्दा संवाद सधैँ राम्रो हुन्छ’ भनेका थिए ।

राष्ट्रपति ट्रम्पले भने उक्त बैठक रद्द गर्नुको कारण आफूले अपेक्षित प्रगति नदेखिएको बताए । ‘हामीले पुटिनसँगको बैठक रोक्यौँ, किनभने हामीले चाहेजस्तो नतिजा पाइएन । तर भविष्यमा बैठक हुनेछ’, उनले स्पष्ट गरे ।

रुसी पक्षले भने बैठक केवल स्थगित भएको जनाउँदै अगस्ट महिनामा अलास्कामा दुवै नेताबीच भेट भएको स्मरण गराएको छ ।

अमेरिकाले हालै रोजनेफ्ट र लुकोइलमाथि प्रतिबन्ध लगाएको घोषणा गरेको थियो । प्रतिबन्धपछि मस्कोले वासिङ्टनको यो कदमलाई ‘सम्बन्ध सुधारमा बाधा पुर्याउने’ प्रतिक्रिया दियो । रसिया टुडेका अनुसार राष्ट्रपति पुटिनले यसले अर्थतन्त्रमा न्यून प्रभाव पार्ने भन्दै भने, ‘कुनै आत्मसम्मानपूर्ण देशले दबाबमा कहिल्यै निर्णय गर्दैन ।’

यसै सन्दर्भमा ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले प्रतिबन्ध ‘उचित र आवश्यक’ भएको बताउँदै रुस–युक्रेन शान्ति प्रक्रिया सुस्त गतिमा चल्नुमा अमेरिकाको निराशा प्रतिबिम्बित भएको बताउनुभयो । उहाँका अनुसार राष्ट्रपति ट्रम्पले जहिले पनि जब आवश्यक ठान्नुहुन्छ रुसमाथि प्रतिबन्ध लगाउने स्पष्ट नीति अपनाउनुभएको छ । हिजो पनि त्यसकै निरन्तरता हो ।

लेभिटले पुटिन र ट्रम्पबीचको सम्भावित बैठक पूर्ण रूपमा ‘तालिकाबाट हटाइएको छैन’ भन्दै अमेरिकी पक्ष बैठकबाट ठोस र सकारात्मक परिणाम निकाल्ने लक्ष्यमा रहेको बताए ।

‘राष्ट्रपतिले वार्ताको मात्रै होइन, कार्यको पनि अपेक्षा राख्नुभएको छ । उहाँ आफ्ना शान्ति प्रयासहरू व्यर्थ नजाऊन् भन्ने चाहनामा हुनुहुन्छ । मध्यपूर्वमा प्राप्त सफलताबाट उहाँ प्रेरित हुनुहुन्छ र युक्रेन युद्ध अन्त्य होस् भन्ने उहाँको चाहना हो’, लेभिटले भने ।

पुटिनले पनि बुडापेस्टमा तय गरिएको अमेरिका–रुस शिखर सम्मेलन स्थगित भएको पुष्टि गर्दै अमेरिकाले बारम्बार दबाबको हतियारका रूपमा प्रतिबन्ध प्रयोग गर्ने गरेको आरोप लगाए । उनले ‘अमेरिकी प्रशासनका केही व्यक्ति रुसी तेल निर्यात सीमित गर्न दवाब दिइरहेका छन् र उनीहरूले वास्तवमै कसका हितका लागि काम गर्छन् भन्ने प्रश्न उठेको’ बताए ।

अमेरिकी अर्थ मन्त्रालयका अनुसार नयाँ प्रतिबन्धले दुवै रुसी तेल कम्पनीका अमेरिकास्थित सम्पत्ति फ्रिज गर्नेछ र अमेरिकी नागरिक तथा संस्थाहरूलाई ती कम्पनीहरूसँग व्यापार गर्न निषेध गर्नेछ । यस कदमको उद्देश्य रुसको युद्ध सञ्चालनलाई आर्थिक रूपमा कमजोर बनाउनु रहेको बताइएको छ ।

राष्ट्रपति पुटिनले भने, ‘यदि वासिङ्टन र मस्कोले दबाबको रणनीति त्यागे र दीर्घकालीन दृष्टिकोणमा गम्भीर संवाद अघि बढाए भने दुवै देशबीच सहकार्यका धेरै सम्भावनाहरू छन् ।’

प्रकाशित मिति: ७ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com