काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले देशको वर्तमान राजनीतिक परिस्थिति र स्वाधीनतामाथि बढ्दो चुनौतीका बीच कम्युनिस्ट शक्तिहरूबीच एकता अब अपरिहार्य बनेको बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले समाजवादी मोर्चा र अन्य सहमत दलहरूबीचको एकता प्रयासबारे जारी विभिन्न प्रचारप्रसारबारे पार्टीको धारणा सार्वजनिक गरेका हुन् ।
विप्लवले लेखेका छन्, ‘एकता भनेको केवल संगठनगत मिलन होइन, विचार, सिद्धान्त, लक्ष्य, आर्थिक दृष्टिकोण, जीवन व्यवहार र संस्कृति सबैमा एकरूप बुझाइको प्रक्रिया हो। यी विषयमा नेतृत्व तहमा पहिलेदेखि नै गम्भीर छलफल भइरहे पनि अन्तिम टुङ्गो अझै लागेको छैन।’ उनका अनुसार, कुनै पनि कम्युनिस्ट वा समाजवादी दलबीच एकता वा सहकार्यका पहललाई सकारात्मक रूपमा लिनु आवश्यक छ। उनले भने, ‘कम्युनिस्टबीच अब विगतझैं शत्रुतापूर्ण सोच होइन, संयुक्त मोर्चा र सहकार्यको नीति मार्फत प्रधान अन्तर्विरोध समाधान गर्ने दिशामा अघि बढ्नुपर्छ।’
विप्लवले नेपालको स्वाधीनता गम्भीर सङ्कटमा परेको दाबी गर्दै सबै देशभक्त, समाजवादी र कम्युनिस्ट शक्तिहरूले राष्ट्रिय स्वाधीनता, जनअधिकार र समाजवादी रूपान्तरणका लागि संयुक्त मोर्चा निर्माणमा अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
प्रकाशित मिति: ७ कार्तिक २०८२, शुक्रबार













प्रतिक्रिया