काठमाडौं ।  ‘जेनजी’ युवाहरुले आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरेका छन् ।

‘जेनजी युनाइटेड–फर परिवर्तन’ संस्थाले आज माइतीघर मण्डलामा आयोजना गरेको खबरदारी सभामा सम्बोधन गर्दै अभियान्ताहरुले देशभरको जेनजीलाई एकताबद्ध बनाउन सरकारले नै पहल गर्नुपर्नेमा जोड दिए ।

advertisement

उनिहरुले सरकार जेनजी आन्दोलनको भावनाअनुसार अघि बढ्न नसकेको, सम्पूर्ण जेनजी युवालाई एकताबद्ध बनाउनुको सट्टा बेग्लाबेग्लै समूहमा विभाजित गर्न भूमिका खेलेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनिहरुले जेनजी युवालाई एकताबद्ध गराउन सरकारले तत्काल ७७ वटै जिल्लामा ‘जेनजी सम्मेलन’ आयोजना गर्नुपर्ने धारणा राखेका थिए ।

जेनजी आन्दोलनको घाइते मदन कार्कीले सरकारले आफूहरुको माग सुनुवाइ नगरी निर्वाचनमा सहभागी हुन दबाब दिएको जनाउँदै माग पूरा गराउन सम्पूर्ण जेनजी एक हुनुपर्ने आवश्यकता औँल्याए । ‘जेनजी युवा सडकमा विजयी र वार्तामा पराजित भए पनि अब एकताबद्ध भएर सङ्घर्ष गर्नुपर्छ’, उनले भने, ‘जात, भाषा, पार्टी बिर्सेर सम्पूर्ण जेनजी एकताबद्ध हुनुपर्छ, अहिले हाम्रो राष्ट्र भन्दा ठूलो केही छैन ।’

घाइते कार्कीले २०८४ को निर्वाचनलाई २०८२ मा सार्नका लागि मात्रै वर्तमान सरकार नबनेको भन्दै आन्दोलनको भावना र माग पूरा गर्न सरकार प्रतिबद्ध हुनुपर्ने बताए ।

जेनजी एकताको माग गर्दै माइतीघरमा खबरदारी सभा गर्दै आएको सो संस्थाले आफूहरुको माग पूरा नभएसम्म विरोध जारी रहने जनाएको छ । जेनजी एकता अभियान्ता ज्योतिका राईले सरकारले नै सम्पूर्ण जेनजी युवालाई एकताबद्ध हुन पहल र आह्वान गर्नुपर्ने आफूहरुको माग रहेको र सो माग पूरा नभएसम्म विरोध जारी रहने बताए ।

प्रकाशित मिति: ७ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com