काठमाडौं । भारतका केन्द्रीय वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलले अमेरिकासँग व्यापार सम्झौता कुनै दबाब वा हतारमा नगर्ने स्पष्ट बताएका छन् ।
जर्मनीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गोयलले दुई देशबीच व्यापारबारे छलफल भइरहेको भए पनि भारत ‘शिरमा बन्दुक राखेर’ सम्झौता गर्न तयार नहुने बताए । उनले भने, ‘हामी अमेरिकासँग संवाद गरिरहेका छौं, तर कुनै डेडलाइनमा बाँधिएर वा दबाबमा परेर सम्झौता गर्ने पक्षमा छैनौं।’
उनका अनुसार भारत दीर्घकालीन सोचसहित व्यापारिक रणनीति अघि बढाइरहेको छ । ‘हामी दीर्घकालीन हितका लागि सोच्दैछौं, हतारमा वा बाह्य दबाबमा निर्णय लिँदैनौं,’ उनले भने । गोयलले भारत अहिले नयाँ बजारहरूको खोजीमा रहेको र घरेलु माग थप सबल बनाउनेतर्फ केन्द्रित रहेको उल्लेख गरे । ‘हाम्रो अर्थतन्त्रको सबलता नै हाम्रो बल हो । १.४ अर्ब जनसंख्या हाम्रो सबैभन्दा ठूलो शक्ति हो,’ उनले जोड दिए ।
यसबीच, अमेरिकाले भारतबाट आयात हुने विभिन्न वस्तुहरूमा थप २५ प्रतिशत कर लगाएको छ । यसअघि पनि २५ प्रतिशत कर लागू थियो, जसका कारण अब कुल कर दर ५० प्रतिशत पुगेको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थपिएको करलाई ‘रूसबाट तेल र हतियार खरिद गरेको सजाय’का रूपमा व्याख्या गरेका छन् ।
प्रकाशित मिति: ८ कार्तिक २०८२, शनिबार













प्रतिक्रिया