काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले पार्टीभित्र पुनःगठनको मुद्दा उठाएको भन्दै आफूविरुद्ध षड्यन्त्रको कथा बुन्न खोजिएको आरोप लगाएकी छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत लामो स्ट्याटस लेख्दै उनले पार्टीका लागि तीन महत्त्वपूर्ण सुझावसमेत पेश गरेकी छन् ।

डा. कार्कीले लेखेकी छन्, ‘कृपया मिथ्या आरोप र निरन्तर प्रहारबाट मलाई निशाना नबनाउनुहोस् । म यो पार्टीलाई हुर्काउन, सबल बनाउन र समयअनुकूल बनाउने प्रयासमा छु । विचार फरक भएको कारण मात्र ममाथि आक्रमण गर्नु अन्याय हो । यसले मेरो धैर्यको परीक्षा नलिनुहोस्।’

advertisement

उनले रास्वपालाई समयसापेक्ष र लोकतान्त्रिक स्वरूपमा रूपान्तरण गर्दै मुलधारको मध्यममार्गी शक्तिका रूपमा विकास गर्नु आफ्नो लक्ष्य भएको बताइन् । पार्टीलाई वैकल्पिक शक्ति, नागरिक समाज र ‘जेन-जी’ पुस्तालाई समेट्ने साझा प्लेटफर्मका रूपमा उभ्याउन सांगठनिक र वैचारिक पुनरावलोकन अपरिहार्य रहेको उनको भनाइ छ ।

डा. कार्कीले पार्टीभित्रको सुधार प्रयासलाई सभापति रवि लामिछानेविरुद्धको षड्यन्त्रका रूपमा चित्रण गरिनु दुर्भाग्यपूर्ण भएको टिप्पणी पनि गरिन् । ‘पार्टी सबल बनाउने प्रयासलाई षड्यन्त्रको रूपमा व्याख्या गरेर निरन्तर प्रहार गर्नुले रास्वपालाई नै कमजोर बनाउँछ,’ उनले लेखेकी छन् ।

उनले पार्टीका नेताकार्यकर्ताहरूलाई तीन बुँदामा आग्रह गरेकी छन्—

पहिलो, आगामी कात्तिक २० र २१ गते हुने विस्तारित बैठकमा सक्रिय सहभागिता जनाउन उनले अनुरोध गरेकी छन् ।

दोस्रो, बैठकमा प्रस्तुत हुने राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि नेताकार्यकर्तालाई राय, अस्वीकार वा संशोधनसहित स्वीकृत गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने उनले बताएकी छन् ।

तेस्रो, ‘जेन-जी’ आन्दोलनपछि रास्वपाले पुरानै अवस्थामै रहेर आगामी चुनावमा एक्लै जाने सोच त्यागी वैकल्पिक शक्तिहरूसँग सहकार्यको बाटो रोज्नुपर्ने उनले जोड दिइन् ।

‘हामी उदार बन्नुपर्छ, साझा प्लेटफर्म बन्नुपर्छ । सुधारका मोडालिटीमा एकसाथ अघि बढौं, यही मेरो अनुरोध हो,’ डा. कार्कीले लेखेकी छन् ।

प्रकाशित मिति: ८ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com