काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले माइतीघर मण्डलालाई ‘एक पक्षको प्रदर्शनस्थल’मा सीमित बनाइएको आरोप लगाएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले जनआवाज, असन्तुष्टि र विरोध प्रकट गर्न सबै नागरिकले प्रयोग गर्ने सार्वजनिक थलो माइतीघर मण्डला अहिले पक्षपातपूर्ण रूपमा प्रयोग भइरहेको बताए।
उनका अनुसार काठमाडौं महानगरका मेयर बालेन साह, ‘हामी नेपाल’का संयोजक सुदन गुरुङ र गृहमन्त्री ओमप्रकाश अर्यालका समर्थकहरूलाई मात्र त्यहाँ प्रदर्शनको अनुमति दिइनु कानुनी सिद्धान्त र लोकतान्त्रिक संस्कृतिमाथिको उपहास हो।
पोखरेलले लेखेका छन्, ‘माइतीघर मण्डला कुनै एक समूह वा पक्षको लागि मात्रै होइन—सबै नागरिकका आवाज उठाउने थलो हो। यसलाई बालेन, सुदन वा गृहमन्त्रीका समर्थकहरूको मात्रै प्रदर्शनस्थल बनाउनु लोकतन्त्रको मूल भावना र कानुनी सिद्धान्तको अपमान हो।’
उनले माइतीघर मण्डलाको प्रयोगमा निष्पक्षता र समान अधिकार सुनिश्चित गर्न सरकार र सम्बन्धित निकायहरूलाई आग्रह पनि गरेका छन्।

प्रकाशित मिति: ८ कार्तिक २०८२, शनिबार













प्रतिक्रिया