काठमाडौं । सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन नयाँ संसद् भवनको निरीक्षण गरेका छन्। शनिबार (कात्तिक ८) उनले भवन निर्माणको प्रगति अवलोकन गर्दै निर्धारित समयभित्र काम पूरा गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका हुन्।

आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने भएकाले त्यसपछि निर्वाचित सांसदहरूले नयाँ भवनमै कार्य सञ्चालन गर्न सकून् भन्ने उद्देश्यले निर्माण कार्य तीव्र बनाउन उनले जोड दिए।

advertisement

निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री घिसिङले भने, ‘जेनजी आन्दोलनका क्रममा पुरानो संसद् भवन आगजनीमा परेर ध्वस्त भएको छ। त्यसैले नयाँ भवन समयमै तयार पार्न अत्यावश्यक छ, ढिलाइ भए संसदीय काममा असर पर्न सक्छ।’

उनका अनुसार निर्माण कम्पनीले पुस १६ गतेसम्म सम्पूर्ण काम सकिने आश्वासन दिएको छ, तर हालको प्रगतिलाई हेर्दा तोकिएको समयमै सबै काम पूरा गर्न चुनौतीपूर्ण देखिएको छ।

मन्त्री घिसिङले दैनिक कार्यतालिका बनाएर काम गर्न, दुई चरणमा निर्माण प्रक्रिया अगाडि बढाउन र दुई दिनभित्र विस्तृत सेड्युल पेश गर्न निर्देशन दिए। उनले समयमै काम सम्पन्न गर्न आवश्यक जनशक्ति र उपकरण परिचालन गर्न आग्रह गर्दै ढिलाइ भएमा ठेकेदार कम्पनीलाई जरिवाना तिराइने चेतावनी पनि दिए।

फागुन २१ गतेका लागि अन्तरिम सरकारले प्रतिनिधिसभा निर्वाचनको मिति तोकेको छ। तर, केही राजनीतिक दलहरूले यो निर्णयलाई असंवैधानिक भन्दै विरोध जनाएका छन्। नेकपा (एमाले) का नेताहरू संसद् पुनर्स्थापनाको मागसहित अदालत जाने तयारीमा छन्।

प्रकाशित मिति: ८ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com