काठमाडौं । गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत विभिन्न समूहले आह्वान गरेका धर्ना, जुलुस र विरोध प्रदर्शनका कार्यक्रमप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। मन्त्रालयले यस्ता गतिविधिबाट देशमा अस्थिरता ल्याउने प्रयत्न हुन सक्ने भन्दै आयोजकहरूलाई सचेत गराएको हो।
शनिबार सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्ति जारी गर्दै मन्त्रालयले स्वार्थ समूहहरूले यस्ता कार्यक्रममार्फत अशान्ति र अराजकता फैलाउन सक्ने चेतावनी दिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘जेन–जी’ आन्दोलनपछि बनेको वर्तमान सरकार आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनको वातावरण तयार पार्न केन्द्रित छ।’ मन्त्रालयका अनुसार सरकारले निर्वाचनसम्बन्धी कानुन संशोधन, स्रोत–साधनको व्यवस्थापन र राजनीतिक दलहरूसँग संवादका प्रक्रिया अघि बढाइरहेको छ।
मन्त्रालयले जनतालाई शान्ति सुरक्षामा खलल पुर्याउने कुनै पनि गतिविधिमा सहभागी नहुन अनुरोध गरेको छ। साथै, नागरिकको शान्तिपूर्ण जीवनयापन, सार्वजनिक सेवा उपभोग र मतदानको अधिकार कुण्ठित हुन नदिन सबै पक्षलाई सचेत गराइएको छ।
विज्ञप्तिमा साम्प्रदायिक सद्भाव र राष्ट्रिय एकता जोगाउन सबै नागरिकले जिम्मेवार भूमिका खेल्नुपर्ने उल्लेख छ। मन्त्रालयले वार्ता र संवादका माध्यमबाट मागहरूको समाधान खोज्न आग्रह गर्दै भनिएको छ, “सरकार सबै जायज माग र सरोकार सम्बोधन गर्न तत्पर र गम्भीर छ, त्यसैले आन्दोलन, जुलुस र प्रदर्शनभन्दा संवाद नै सर्वोत्तम विकल्प हो।”
प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार












प्रतिक्रिया