काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको रूपमा शपथ लिन तयारीमा रहेका खगेन्द्र सुनार फौजदारी मुद्दामा प्रतिवादी रहेको तथ्य सार्वजनिक भएको छ। दैलेखको नारायण नगरपालिका–२ भैसेखोर निवासी सुनारविरुद्ध २०८१ असारमा सुर्खेत जिल्ला अदालतमा मुद्दा दायर गरिएको पाइएको हो।

सरकारी वकिलको कार्यालयले प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सुनारसहित अन्यलाई स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको आरोपमा प्रतिवादी बनाई अदालतमा मुद्दा दायर गरेको थियो।

advertisement

सुर्खेत जिल्ला अदालतले २०८१ असार १४ गते सो मुद्दामा सुनारविरुद्ध ७ दिने पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी कार्यान्वयन नभएपछि अदालतले दैलेख जिल्ला प्रहरी कार्यालयलाई ‘३५ दिने पुर्जी तामेल गरी उपस्थित गराउने’ निर्देशनसमेत दिएको थियो। त्यसपछि २०८१ मंसिर २१ गते फेरि पक्राउ गरी अदालतमा उपस्थित गराउन पत्राचार गरिएको अभिलेखमा उल्लेख छ।

उनीविरुद्ध सुर्खेतको गुर्भाकोट नगरपालिका–८ स्थित मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटाले स्वास्थ्य सेवा अवरुद्ध गरेको र तोडफोडमा संलग्न रहेको आरोपसहित जाहेरी दिएका थिए।

दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बरालले यस सम्बन्धी पत्रबारे जानकारी नभएको प्रतिक्रिया दिएका छन्। ‘म अहिले कार्यालयबाहिर छु, सो विषयमा हाल टिप्पणी गर्न सक्दिन,’ उनले संक्षिप्त प्रतिक्रिया दिए।

 

प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com