काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीका लागि सिफारिस गरिएका खगेन्द्र सुनारको नाम विवादित बनेपछि सरकारले अन्तिम निर्णय रोक्दै छलफल थालेको छ।
उच्च स्रोतका अनुसार, प्रधानमन्त्री सुशीला कार्कीले सुनारसहित चार जनाको नाम मन्त्रीका रूपमा राष्ट्रपति कार्यालयमा पठाइसकेकी थिइन्। तर सुनारविरुद्ध विगतमा दर्ता भएका फौजदारी मुद्दा र उनी प्रहरीको फरार सूचीमा परेको तथ्य सार्वजनिक भएपछि अब उनलाई शपथ खुवाउने कि नखुवाउने भन्ने विषयमा सरकारभित्र गम्भीर परामर्श सुरु भएको हो।
सुनारको नाम सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको नियुक्तिको विरोध र आलोचना तीव्र बनेको छ। धेरैले उनलाई विवादग्रस्त व्यक्तित्वको रूपमा उल्लेख गर्दै मन्त्री पदका लागि अनुपयुक्त ठहर गरेका छन्।
प्रधानमन्त्री कार्कीले सिफारिस गरेका अन्य तीन मन्त्रीमा डा. सुधा शर्मा गौतम, गणपतिलाल श्रेष्ठ र बब्लु गुप्ता रहेका छन्। डा. गौतमलाई स्वास्थ्य तथा जनसंख्या, श्रेष्ठलाई भूमिसुधार, र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइने तयारी गरिएको छ।
सरकारी स्रोतका अनुसार, सुनारको विषयमा स्पष्ट निष्कर्षमा नपुज्दासम्म मन्त्री शपथको तालिका परिमार्जन हुन सक्ने संकेत मिलेको छ।
प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार













प्रतिक्रिया