काठमाडौं । मन्त्री बन्ने चर्चामा रहेका खगेन्द्र सुनार फौजदारी मुद्दामा प्रतिवादी रहेको तथ्य सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयले आधिकारिक प्रतिक्रिया दिएको छ। प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले सुनारको नाम मन्त्रीको सूचीमै नसमावेश गरिएको स्पष्ट पारेको हो।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठका अनुसार, खगेन्द्र सुनार मन्त्री बन्ने सूचीमा थिएनन्। प्रधानमन्त्री कार्यालयबाट पठाइएको नामावलीमा उनको नाम समावेश नै छैन।

advertisement

सुनारविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको विवरण सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयको यो स्पष्टीकरण आएको हो। यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारीसहित सुनार शपथ ग्रहण गर्न तयारीमा रहेको समाचार बाहिर आएको थियो। तर, शपथको पूर्वसन्ध्यामा उनी फौजदारी मुद्दामा प्रतिवादी रहेको प्रमाण सार्वजनिक भएपछि सम्भावित नियुक्ति विवादमा तानिएको थियो।

दैलेखको नारायण नगरपालिका–२ भैसेखोरका स्थायी निवासी सुनारविरुद्ध २०८१ असारमा सुर्खेत जिल्ला अदालतमा स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको आरोपमा मुद्दा दायर गरिएको थियो। सो मुद्दा गुर्भाकोट नगरपालिका–८ मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटाको जाहेरीका आधारमा दायर गरिएको थियो।

अदालतको अभिलेख अनुसार, २०८१ असार १४ मा दायर सो मुद्दामा सुर्खेत जिल्ला अदालतले सुनारविरुद्ध ७ दिने पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ नपरेमा ‘३५ दिने पुर्जी तामेल गरी उपस्थित गराउन’ जिल्ला प्रहरी कार्यालय दैलेखलाई पत्राचार गरिएको थियो।

त्यसपछि पनि २०८१ मंसिर २१ मा अदालतले उनलाई पक्राउ गरी उपस्थित गराउन पुनः पत्राचार गरेको विवरण अभिलेखमा उल्लेख छ।

प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com