गोरखा । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकलाई स्थायित्व दिन र भ्रष्टाचार अन्त्य गर्न सक्ने शक्ति माओवादी केन्द्र नै भएको दाबी गरेका छन् ।

गोरखामा आइतबार आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले हालको ‘जेन–जी आन्दोलन’ले उठाएका मागहरू माओवादी केन्द्रले विगतदेखि नै उठाउँदै आएको विषय भएको उल्लेख गरे ।

advertisement

‘जेन–जी आन्दोलनले उठाएका मुद्दा नयाँ होइनन्, हामीले संविधानसभा चुनावदेखि नै ती मुद्दा अघि सारेका हौं,’ उनले भने, ‘अब ती मागहरूलाई संस्थागत रूप दिन माओवादी केन्द्रले पहल र नेतृत्व गर्नेछ।’

प्रचण्डले तत्कालीन एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा सुशीला कार्की अन्तरिम प्रधानमन्त्री बनेको अवस्थामा माओवादी केन्द्रले पनि त्यसलाई समर्थन गरेको स्मरण गरे । ‘हाम्रो मत भने स्पष्ट थियो— संसद् विघटन संविधान संशोधन र संसद् अनुमोदनपछि मात्रै हुनुपर्छ,’ उनले स्पष्ट पारे ।

उनका अनुसार माओवादी केन्द्रले सधैं भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध लड्दै आएको छ र ‘जेन–जी आन्दोलन’ त्यही राजनीतिक चेतनाको निरन्तरता हो ।

उनले देशका सबै राजनीतिक दलहरूलाई आसन्न निर्वाचनमा एकताबद्ध भई सहभागी हुन आग्रह गरे । ‘अब चुनाव घोषणा भइसकेको छ, त्यसलाई सफल पार्नु नै हाम्रो पहिलो दायित्व हो,’ उनले भने, ‘चुनाव हुने वा नहुने भन्ने प्रश्न छैन, हामी सबैले निष्पक्ष निर्वाचनमा ध्यान दिनुपर्छ।’

प्रचण्डले माओवादी केन्द्रप्रति जनताको विश्वास तीव्र रूपमा बढिरहेको दाबी पनि गरे । ‘हाम्रो संगठन गाउँ–गाउँसम्म फैलिएको छ, जनताले फेरि पनि माओवादी नै देश सम्हाल्ने शक्ति हो भनेर बुझ्न थालेका छन्,’ उनले भने ।

उनले युवा पुस्ता, विशेषगरी जेन–जी आन्दोलनमा सहभागी युवाहरू पनि अब माओवादी केन्द्रलाई आफ्नो राजनीतिक अभिभावकका रूपमा स्वीकार गर्न थालेको बताए । ‘हाम्रो निरन्तर संवादले युवा पुस्ता पनि अब माओवादी नै आफ्नो वास्तविक अभिभावक हो भन्ने निष्कर्षमा पुगेका छन्,’ प्रचण्डले भनिन् ।

कार्यक्रममा उनले पार्टीभित्रको एकता मजबुत पार्ने प्रतिबद्धता पनि व्यक्त गरे । ‘हाम्रो केन्द्रीय समितिले नेतृत्वविरोधी र विभाजनकारी प्रवृत्तिलाई परास्त गरेको छ,’ उनले भने, ‘विचार मिल्नेहरूसँग एकता गरिन्छ, तत्काल सम्भव नभए संयुक्त मोर्चा बनाएर अघि बढिन्छ।’

उनले प्रतिगामी शक्तिहरू अझै सक्रिय रहेको चेतावनी दिँदै लोकतन्त्र र प्रणालीमाथि खतराको सम्भावनाबारे सचेत रहन सबैलाई आह्वान गरे ।

प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com