काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको जनधन र सम्पत्ति क्षतिबारे छानबिन गर्न सरकारले गठन गरेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।
अधिवक्ता विपिन ढकालले आइतबार सर्वोच्च अदालतमा आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै रिट दर्ताका लागि निवेदन पेश गरेका हुन्।
सर्वोच्च अदालतका सह–रजिष्ट्रार तथा प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार रिट दर्ता प्रक्रियाको अध्ययन कार्य अहिले चलिरहेको छ।
रिटमा आयोगका संयोजक कार्कीले विगतमा सार्वजनिक पदमा रहँदा देखाएको राजनीतिक अभिव्यक्ति र कार्यशैलीका कारण निष्पक्षता र तटस्थतामाथि शंका उत्पन्न भएको दाबी गरिएको छ। ढकालका अनुसार यस्तो पृष्ठभूमि भएका व्यक्तिलाई आयोगको नेतृत्वमा राखिनु आयोगको उद्देश्य र निष्पक्षताको मानकविपरीत रहेको हो।
रिटमार्फत अधिवक्ता ढकालले आयोगको वैधानिकता, गठन प्रक्रिया, र अधिकार क्षेत्र सम्बन्धी प्रश्नहरू समेत उठाएका छन्।
सरकारले हालै जेनजी आन्दोलनका क्रममा भएका आगजनी, तोडफोड र जनधन क्षतिको छानबिनका लागि कार्कीको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो।
प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार













प्रतिक्रिया