काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीका रूपमा सिफारिस गरेका गणपतिलाल श्रेष्ठले अन्तिम समयमा मन्त्रालय परिवर्तन भएपछि पद अस्वीकार गरेका छन्।
प्रधानमन्त्रीले उनलाई सुरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका रूपमा सिफारिस गरेकी थिइन्। तर पछि मन्त्रालय फेरेर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी प्रस्ताव गरेपछि श्रेष्ठले अस्वीकार गरेका हुन्।
काठमाडौंको संस्कृति र सम्पदा संरक्षण अभियानमा लामो समयदेखि सक्रिय श्रेष्ठले आफ्नो विशेषज्ञता बाहिरको मन्त्रालय सम्हाल्न उपयुक्त नहुने बताएका छन्।
‘२४ वर्षदेखि संस्कृति र सम्पदा संरक्षणमा काम गर्दै आएको मान्छे हुँ। पर्यटन मन्त्रालयको प्रस्ताव स्वाभाविक र सान्दर्भिक थियो, त्यसैले स्वीकार गरेको थिएँ,’ उनले भने, ‘तर आइतबार बिहान हेरौं त भूमि मन्त्रालय भनेर नाम फेरिएको रहेछ। मलाई पूर्वजानकारी नै दिइएन।’
श्रेष्ठका अनुसार शनिबार राति प्रधानमन्त्री सुशीला कार्कीसहितका अन्य मन्त्रीहरूसँग बसेर आफू पर्यटन मन्त्री बन्ने सहमति भएको थियो। ‘राति ८ बजेसम्म सबै कुरा पक्का थियो। बिहान मिडिया हेर्दा नाम बदलिएको देखेँ,’ उनले भने, ‘नागरिकहरूको दबाबले फेर्नुपर्यो भन्ने मात्रै सुन्ने मौका पाएँ, तर स्पष्ट स्पष्टीकरण आएन।’
श्रेष्ठले प्रधानमन्त्रीलाई भेटेर मन्त्री बन्ने प्रस्ताव अस्वीकार गरेको जानकारी पनि दिएका छन्। ‘म पदका लागि होइन, उद्देश्यका लागि काम गर्छु। त्यसैले संस्कृति अभियन्ता भएरै काम गर्नु उचित ठानेँ,’ उनले भने।
प्रधानमन्त्री कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तारको तयारी गर्दै चार जनाको नाम राष्ट्रपति कार्यालयमा पठाएकी थिइन्। दिउँसो साढे दुई बजे शपथको कार्यक्रम तय भएको थियो। तर अब दुई जनाले मात्रै शपथ लिने भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रूपमा डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्रीका रूपमा बब्लु गुप्ता मात्र शपथ लिने भएका हुन्।
यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका रूपमा सिफारिस भएका खगेन्द्र सुनारको नाम पनि फौजदारी मुद्दामा प्रतिवादी रहेको तथ्य सार्वजनिक भएपछि हटाइएको छ।
श्रेष्ठ र सुनार दुबैको नाम अन्तिम समयमा रोकिँदा आजको शपथ समारोह दुई मन्त्रीमा मात्र सीमित भएको छ।
प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार













प्रतिक्रिया