काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले जेनजी आन्दोलनका शहीद र घाइतेहरूको योगदानलाई कहिल्यै भुल्न नहुने बताएकी छन्। सोमबार बिहान सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत आन्दोलनका घाइतेहरूसँग भेट गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो धारणा राखेकी हुन्।
मन्त्री गौतमले जानकारी दिँदै भनिन् कि जेनजी आन्दोलनका क्रममा केएमसी अस्पतालले ८३ जना घाइतेको उपचार गरेको थियो, जसमा हाल दुई जना मात्र उपचाररत छन्। तीमध्ये एक महिला आन्दोलनका क्रममा पेट्रोल बमको आक्रमणबाट गम्भीर घाइते भएकी हुन् भने अर्का एक व्यक्ति गोली लागेर अस्पतालमा उपचार गराइरहेका छन्। दुवैको अवस्था सुधारोन्मुख रहेको उनले बताइन्।
उनले शहीदहरूको बलिदानलाई सम्मान गर्नुपर्ने र आन्दोलनले उठाएका भ्रष्टाचारविरुद्धका माग तथा सुशासनको आवश्यकता कहिल्यै बिर्सन नहुने स्पष्ट गरिन्। शहीदको बलिदानको अवमूल्यन हुन दिनु हुँदैन, मन्त्री गौतमले जोड दिँदै भनिन्, हामी सबै सचेत रहनुपर्छ कि उनीहरूले देखाएको बाटो व्यर्थ नहोस्।
उनको अभिव्यक्तिले आन्दोलनको गम्भीरता र सरकारको जिम्मेवारीप्रति स्पष्ट सन्देश दिएको छ।
प्रकाशित मिति: १० कार्तिक २०८२, सोमबार













प्रतिक्रिया