काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवा सोमबार राति उपचारका लागि सिंगापुर प्रस्थान गर्ने भएका छन् ।
पारिवारिक स्रोतका अनुसार देउवा दम्पती सोमबार राति १० बजे सिंगापुर एयरलाइन्समार्फत सिंगापुर जाने तय भएको हो।
देउवाले आफ्नो स्वास्थ्य उपचारका उद्देश्यले सिंगापुर जान लागेको जानकारी कार्यवाहक सभापति पूर्णबहादुर खड्का, इतर समूहका नेता डा. शेखर कोइरालालगायत पार्टीका शीर्ष नेताहरुलाई गराएको स्रोतले जनाएको छ।
गत भदौ २५ गते जेनजी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित आफ्नै निवासमा देउवा दम्पतीमाथि भएको आक्रमणपछि उनीहरू गम्भीर रूपमा घाइते भएका थिए। सो क्रममा देउवाको घाँटीमा १२ वटा टाँका लगाउनुपरेको कांग्रेसका तत्कालीन उपसभापति तथा हालका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यसम्पादन समिति बैठकमार्फत् जानकारी गराएका थिए।
करिब एक महिना सैनिक अस्पताल छाउनीमा उपचार गराएपछि देउवा असोज २८ गते मात्र सार्वजनिक रूपमा देखिएका थिए। त्यसपछि उनले उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएका थिए।
स्वास्थ्यमा सुधार नआएकाले देउवा अहिले थप उपचारका लागि सिंगापुर जान लागेका हुन्। स्रोतका अनुसार उनी केही महिना सिंगापुरमै बस्ने तयारीमा छन्।
प्रकाशित मिति: १० कार्तिक २०८२, सोमबार













प्रतिक्रिया