काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्रका आन्तरिक मतभेद समाधान गर्दै एकताबद्ध रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्।

तरुण दलद्वारा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले विगतमा भएका कमजोरीहरूलाई आत्मसात गर्दै अब पार्टीलाई जनअपेक्षाअनुसार सुदृढ रूपमा अघि बढाउनुपर्ने बताए।

advertisement

उनका अनुसार, जेनजी आन्दोलनका क्रममा गम्भीर रूपमा घाइते भएका सभापति शेरबहादुर देउवाले पनि केन्द्रीय कार्यसमिति बैठकमार्फत् पार्टी एकताका पक्षमा सन्देश दिएका छन्।

‘नेपाली कांग्रेस आफ्ना आन्तरिक समस्याहरू समाधान गर्दै, केही विषयहरूलाई थाती राख्दै पुनः बृहत् एकताका साथ अघि बढ्नुपर्छ,’ खड्काले भने, ‘विगतका कमीकमजोरी स्वीकार्दै संविधान, लोकतन्त्र र जनअधिकारको रक्षाका लागि हामी एकढिक्का भएर अघि बढ्नेछौं।’

तरुण दलको स्थापना दिवसको अवसरमा बोल्दै उनले युवाहरूप्रति अनुशासित, संयमित र जिम्मेवार रहँदै जुझारु भावनाका साथ पार्टी र राष्ट्रको सेवामा लाग्न आग्रह गरे। ‘तरुणहरूले देश र पार्टीका लागि आफ्नो क्षमता तिखार्नुपर्छ,’ उनले भने, ‘धैर्यता र अनुशासनका साथ संगठन सुदृढ बनाउँदै अघि बढ्नुपर्छ।’

खड्काले सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवाको स्वास्थ्य अवस्था क्रमशः सुधार भइरहेको जानकारी पनि दिएका छन्। ‘सभापतिज्यूले उपचारको क्रममा रहँदा पनि अदम्य साहस देखाउँदै जलेको पार्टी कार्यालयमा आयोजित बैठकमा उपस्थित भएर हामी सबैलाई हौसला दिनुभयो,’ उनले भने, ‘उनको त्यो उपस्थितिले कांग्रेसभित्र नयाँ ऊर्जा र आत्मविश्वास जगाएको छ।’

प्रकाशित मिति: १० कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com