काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ सोमबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (ISA) को आठौं महासभामा सहभागी हुन भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन्। मन्त्री घिसिङ राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको उडानमार्फत अपराह्न दिल्ली प्रस्थान गरेका हुन्।

चार दिनसम्म चल्ने उक्त सभा १० देखि १३ कात्तिकसम्म नयाँ दिल्लीमा हुनेछ, जसमा ४० भन्दा बढी देशका ऊर्जा मन्त्री र उच्चस्तरीय प्रतिनिधिहरू सहभागी हुनेछन्।

advertisement

सभामा सौर्य ऊर्जाको प्रवर्द्धन, दिगो ऊर्जाको पहुँच विस्तार, जलवायु परिवर्तन न्यूनीकरणका पहल तथा सहकार्यका अवसरबारे विषयगत छलफल हुने कार्यक्रम छ। मन्त्री घिसिङले नेपालका तर्फबाट सभालाई सम्बोधन गर्दै सौर्य ऊर्जाको उपयोग विस्तार र स्वच्छ ऊर्जा प्रवर्द्धनमा नेपालका नीति तथा प्राथमिकता प्रस्तुत गर्नेछन्।

नेपालले दिगो ऊर्जा विकास र जलवायुमैत्री ऊर्जाको उपयोगलाई प्राथमिकता दिएको छ। आइएसएको सदस्य राष्ट्रका रूपमा नेपालले अन्तर्राष्ट्रिय सहकार्य र लगानी आकर्षणमार्फत स्वच्छ ऊर्जाको पहुँच अभिवृद्धि गर्ने लक्ष्य लिएको छ।

मन्त्री घिसिङले सभाको विषयगत सत्रमा ‘क्षेत्रीय तथा विश्वव्यापी ऊर्जा रुपान्तरणमा सहकार्य र अन्तरआवद्धताको आवश्यकता’ विषयमा विशेष सम्बोधन गर्ने कार्यक्रम समेत रहेको मन्त्रालयले जनाएको छ।

सौर्य ऊर्जाको प्रवर्द्धनका लागि सन् २०१५ नोभेम्बरमा पेरिस घोषणापछि आइएसए स्थापना गरिएको हो। यस गठबन्धनले सन् २०३० सम्ममा सौर्य ऊर्जाको प्रयोग व्यापक बनाउँदै एक हजार अर्ब अमेरिकी डलरभन्दा बढी लगानी परिचालन गर्ने लक्ष्य राखेको छ।

नेपालले २०८१ साल भदौमा प्रतिनिधि सभाबाट संरचना सम्झौता अनुमोदन गरेपछि आइएसएको १०१औं सदस्य राष्ट्रको रूपमा औपचारिक रूपमा आवद्ध भएको थियो। मन्त्री घिसिङ बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: १० कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com