काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार, यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङ सोमबार अपराह्न अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं महासभामा सहभागी हुन भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन्।
१० देखि १३ कात्तिकसम्म चल्ने उक्त महासभामा विश्वका ४० भन्दा बढी मुलुकका ऊर्जामन्त्रीहरू सहभागी हुने कार्यक्रम छ।
महासभामा सदस्य राष्ट्रका मन्त्रीहरूबीच सौर्य ऊर्जाको प्रवर्द्धन, दिगो ऊर्जाको पहुँच विस्तार, जलवायु परिवर्तन न्यूनीकरणका उपाय र सहकार्यका सम्भावनाबारे उच्चस्तरीय छलफल हुनेछ। मन्त्री घिसिङले नेपालका तर्फबाट सभामा सम्बोधन गर्ने र देशको ऊर्जा नीति तथा योजना प्रस्तुत गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
नेपालले दिगो ऊर्जा विकासका लागि सौर्य ऊर्जाको प्रयोग विस्तार गर्न प्रतिबद्धता जनाएको छ। यसै उद्देश्यअनुरूप अन्तर्राष्ट्रिय सहकार्यमार्फत स्वच्छ ऊर्जाको पहुँच बढाउने प्रयास स्वरूप मन्त्री घिसिङले सहभागिता जनाएका हुन्। उनले बृहत् स्तरको स्वच्छ ऊर्जा रूपान्तरणका लागि क्षेत्रीय तथा विश्वव्यापी ऊर्जा संयोजनबारे विषयगत सत्रमा विशेष सम्बोधन गर्ने तय गरिएको छ।
सन् २०१५ नोभेम्बरमा पेरिस घोषणामार्फत सदस्य राष्ट्रहरूले सौर्य ऊर्जाको प्रयोग अभिवृद्धि गर्न साझा प्रतिबद्धता जनाउँदै आइएसए स्थापना गरेका थिए। संस्थाले सन् २०३० सम्ममा एक हजार अर्ब अमेरिकी डलरभन्दा बढी लगानी परिचालन गरी सौर्य प्रविधिको विकास र ऊर्जा रुपान्तरणमा अग्रसर रहने लक्ष्य लिएको छ।
नेपाल प्रतिनिधिसभाबाट संरचना सम्झौता अनुमोदन भएपछि सन् २०२४ (२०८१ साल) भदौ महिनामा १०१ औं सदस्य राष्ट्रका रूपमा आइएसएमा औपचारिक रूपमा आबद्ध भएको हो।
मन्त्री घिसिङले महासभाको सहभागिता सम्पन्न गरी बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १० कार्तिक २०८२, सोमबार













प्रतिक्रिया