काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ सोमबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (ISA) को आठौं महासभामा सहभागी हुन भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन्।
मन्त्री घिसिङ सोमबार अपराह्न राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको उडानमार्फत दिल्ली पुगेका हुन्। ४० भन्दा बढी देशका ऊर्जा मन्त्री सहभागी हुने उक्त सभा कार्तिक १० देखि १३ गतेसम्म नयाँ दिल्लीमा हुनेछ।
सभामा सदस्य राष्ट्रका ऊर्जा मन्त्री र प्रतिनिधिहरूबीच सौर्य ऊर्जाको प्रवर्द्धन, दिगो ऊर्जा आपूर्तिको विस्तार, जलवायु परिवर्तन न्यूनीकरणका पहल र सहकार्यका अवसरबारे उच्चस्तरीय छलफल हुने कार्यक्रम छ। मन्त्री घिसिङले नेपालका तर्फबाट सभामा सम्बोधन गर्दै सौर्य ऊर्जाको उपयोग, स्वच्छ ऊर्जा विस्तार तथा क्षेत्रीय सहकार्यका विषयमा नेपालको दृष्टिकोण प्रस्तुत गर्नेछन्।
नेपालले दिगो ऊर्जा विकासका लागि सौर्य ऊर्जाको उपयोग विस्तार र अन्तर्राष्ट्रिय सहकार्यमार्फत स्वच्छ ऊर्जाको पहुँच अभिवृद्धि गर्ने नीति अवलम्बन गरेको छ। घिसिङले सभाको विषयगत सत्रमा ‘विश्वव्यापी ऊर्जा रुपान्तरणमा क्षेत्रीय अन्तरआवद्धता र सहकार्य’ विषयमा विशेष सम्बोधन गर्ने कार्यक्रम समेत रहेको ऊर्जा मन्त्रालयले जनाएको छ।
सौर्य ऊर्जाको साझा प्रवर्द्धनका लागि सन् २०१५ को नोभेम्बरमा पेरिस घोषणापछि अन्तर्राष्ट्रिय सौर्य गठबन्धन स्थापना गरिएको हो। यसले सन् २०३० सम्ममा सौर्य ऊर्जाको व्यापक प्रयोग गर्दै एक हजार अर्ब अमेरिकी डलरभन्दा बढी लगानी परिचालन गर्ने लक्ष्य राखेको छ।
नेपाल प्रतिनिधि सभाबाट संरचना सम्झौता अनुमोदन भएपछि सन् २०८१ साल भदौमा आइएसएको १०१औं सदस्य राष्ट्रका रूपमा औपचारिक रूपमा आवद्ध भएको हो। मन्त्री घिसिङ बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।
भारत प्रस्थानका क्रममा घिसिङले भीआईपी सुविधा नलिई सामान्य यात्रु सरह विमानस्थल प्रवेश गरेका थिए। साधारण यात्राको शैलीमा भ्रमण गरेपछि उनको व्यवहार सामाजिक सञ्जालमा प्रशंसित बनेको छ।
प्रकाशित मिति: १० कार्तिक २०८२, सोमबार













प्रतिक्रिया