काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा कुनै हालतमा पनि विभाजन नहुने स्पष्ट बताएका छन्। सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीभित्र भइरहेका छलफल र मतभेदलाई लिएर फैलाइएका हल्ला निराधार रहेको बताएका हुन्।
महामन्त्री शर्माले पार्टीभित्रको बहसलाई स्वाभाविक र लोकतान्त्रिक अभ्यासको हिस्सा भन्दै त्यसलाई विग्रहसँग जोड्नु अनुचित भएको बताए। नेपाली कांग्रेस संवाद र सहमतिबाट निष्कर्षमा पुग्ने पार्टी हो, उनले भने, कसैले कांग्रेस फुट्छ भनेर सोचिरहेको छ भने त्यो भ्रम हो। पार्टी विग्रँदैन, एक ढिक्का भएर अघि बढ्छ।
उनका अनुसार पार्टीभित्र विभिन्न धारणा र मत आउने कुरा स्वाभाविक हो। यो त लोकतान्त्रिक पार्टी हो, यहाँ विचार भिन्नता हुन्छ, तर अन्ततः हामी सबै एउटै ध्येयका लागि अघि बढ्छौं, शर्माले स्पष्ट पारे।
उनले पार्टी सभापति र नेतृत्वलाई केन्द्रमा राखेर स्वस्थ छलफल र आलोचनाको संस्कृति लोकतान्त्रिक अभ्यासकै अभिन्न अंग भएको बताए। जहाँ सबैले एउटै कुरा मात्र दोहोर्याउने हो भने त्यो कांग्रेस हुन्न, यहाँ बहस हुन्छ, मत फरक पर्छ, तर अन्ततः एकताको बाटोमै सबै अघि बढ्छन्, उनले भने।
महामन्त्री शर्माले नेपाली कांग्रेसले बद्लिँदो परिस्थितिअनुसार आफूलाई रूपान्तरण गर्दै समाज परिवर्तनको नेतृत्व गर्ने पार्टीका रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे।
प्रकाशित मिति: १० कार्तिक २०८२, सोमबार













प्रतिक्रिया