काठमाडौं । नेपाली कांग्रेसनिकट युवा संगठन नेपाल तरुण दलले सरकारविरुद्ध सडक आन्दोलनमा जाने चेतावनी दिएको छ।

सोमबार नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष विद्वान गुरुङले देशको प्रजातान्त्रिक व्यवस्था र संगठनको अस्तित्व जोगाउन अब मौन बस्ने समय नसकेको स्पष्ट पारे।

advertisement

उनले दुर्गा प्रसाईं र सुदन गुरुङजस्ता व्यक्तिहरूले लोकतान्त्रिक शक्तिमाथि आक्रमण गरिरहेको आरोप लगाउँदै त्यसका विरुद्ध सडक संघर्षका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए।

‘हाम्रो अस्तित्वमाथि निरन्तर प्रहार भइरहेको छ, अब चुप लागेर बस्ने अवस्था छैन,’ अध्यक्ष गुरुङले भने, ‘व्यवस्था जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यता संरक्षण गर्न तरुण दल सडकमा उत्रिन तयार रहोस्।’

गुरुङले भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको हिंसा र तोडफोड रोक्न नसकिएकोमा क्षमायाचना गर्दै आगामी दिनमा त्यस्तो अवस्था दोहोरिन नदिन पार्टी र संगठन पूर्ण सतर्क रहने प्रतिबद्धता जनाए।

उनले जेनजी आन्दोलनको नाममा कांग्रेस नेतामाथि भएको आक्रमणको छिटो अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गर्दै चेतावनी दिए, ‘यदि जिम्मेवार निकायले कारबाही गरेन भने, अब हामी चुप बस्दैनौं। नेताहरूको घर, पार्टी कार्यालय र उद्योग–व्यवसायमा भएका आक्रमणहरूको हिसाब नेपाल तरुण दलले गर्नेछ।’

अध्यक्ष गुरुङले देशको लोकतान्त्रिक व्यवस्था र पार्टीको अस्तित्व रक्षा अब प्रत्येक युवाको जिम्मेवारी भएको उल्लेख गर्दै भने, “मुलुकको व्यवस्था र स्वतन्त्रता जोगाउन हो भने सडकमा उत्रिनुको विकल्प छैन।”

प्रकाशित मिति: १० कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com