तनहुँ । चिसो मौसम सुरु भएसँगै मानुङकोटमा यतिवेला दैनिक पर्यटकको चहलपहल बढेको छ। हाल दैनिक एक हजारभन्दा बढी पर्यटक मानुङकोट पुग्ने गरेका छन्। सोमबार बिहान करिब दुई हजार पर्यटकले मानुङकोटबाट दृश्यावलोकन गरेका छन्।

‘सामाजिक सञ्जालमा यहाँको दृश्य देखेका थियौँ, आज प्रत्यक्ष आँखाले हेर्दा झनै मनमोहक लाग्यो’, पोखराकी लक्ष्मी कार्कीले भनिन्, “यहाँबाट देखिने सूर्योदय, हिमशृङ्खलाले लोभ्यायो।’ काठमाडौँबाट आएकी लुनिभा श्रेष्ठले मानुङकोटको सुन्दरताले मोहनी लगालगाएको बताइन्। यहाँको दृश्यले मोहनी लगायो।’

advertisement

मानुङकोटस्थित अम्ब्रेला रेष्टुराँका सञ्चालक शैलेश सुनामले यतिवेला मानुङकोटमा पर्यटकको सिजन रहेको जानकारी दिँदै दशैँ तिहारसँगै पर्यटकको चहलपहल बाक्लिएको बताए। चिसो मौसममा सूर्योदय, कुहिरो, सूर्यास्तले यहाँ आउने पर्यटक लोभिने गरेको उनको भनाइ छ।

‘अहिलेका वेला भनेको पर्यटकको चाप हुने समय हो, पहिल्यै आफ्नो बस्ने स्थान सुरक्षित गरेर आउँदा सहज हुन्छ। हामीले प्रतिव्यक्ति एक हजार २०० मा रातको बास, खाना र बिहानको नास्ता उपलब्ध गराइरहेका छौँ’, उनले भने। उनले आफ्नो रेष्टुराँमा दैनिक ७० जना बास बस्ने क्षमता रहेको जानकारी दिए।

मानुङकोटमा पर्यटक उक्लिनेक्रम बढेपछि यहाँ होटल खुल्नेक्रम बढेको छ। विगतमा होटल नरहेको यो ठाउँमा अहिले एक दर्जन सञ्चालनमा छन्। दृश्यावलोकनका लागि व्यास नगरपालिकाले दृश्यावलोकन स्तम्भ निर्माण गरेको छ भने सुरक्षाका लागि डाँडाको छेउमा रेलिङ हालेको छ। रेलिङसँगैको भागमा हालै पैदलमार्ग निर्माण गरिएको छ।

मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ। दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ।

मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनःमानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन्। खानेपानीको अभावमा यहाँका स्थानीयवासीले गाउँ छाडेका थिए। बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ।

मानुङकोट जाने सडक कालोपत्र भइसकेको छ। शहरी विकास मन्त्रालयको आर्थिक लगानीमा मानुङकोटसम्म पुग्ने सडक कालोपत्र गरिएको हो। अलैँचेबाट मानुङकोटसम्मको चार हजार ३०० मिटर सडक कालोपत्र भएको हो। कालोपत्र गर्न अप्ठ्यारो रहेको ठाउँमा १८० मिटर आरसिसी ढलान गरिएको व्यास नगरपालिका कार्यालयले जनाएको छ।

 

प्रकाशित मिति: ११ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com