मोरङ। जाडो छल्न विगतमा झैँ यस वर्ष पनि पर्यटक चरा नेपाल आइपुगेका छन् । उत्तरी ध्रुवमा हिमपातको सुरुआतसँगै हिउँदे यामको बढ्दो जाडो छल्न त्यहाँका कतिपय चरा नेपालको तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न भूभाग तथा ताल, तलैया र नदी आसपासमा सयौँ प्रजातिका चरा नेपाल आइपुगेका छन् ।

विगतका विवरण हेर्दा असोज दोस्रो सातादेखि यहाँ आउन थालेका पर्यटक चरा करिब छ महिना नेपाल रहने र त्यसपछि फर्कने चिनियाँ विज्ञान प्रतिष्ठानका उपप्राध्यापक एवं चरा अनुसन्धानकर्ता डा हेमबहादुर कटुवालले बताए । “बर्सेनि करिब १५० प्रजातिका चरा रुस, किर्गिस्तान, तुर्किमिनिस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मङ्गोलियाका साथै युरोप, तिब्बती क्षेत्रबाट नेपालमा आउने गरेका छन् । त्यसमध्ये केही प्रजातिका चरा नेपालको बाटो हुँदै दक्षिण भारतसम्म जाने गर्दछन्”, उनले भने ।

advertisement

नेपाललाई आकर्षक र सुरक्षित गन्तव्य मानेर आउने पर्यटक चरा विगतका वर्षमाभन्दा घट्दो क्रममा रहेकाले वासस्थान सुरक्षित र व्यवस्थित गर्न सबै सरोकार भएका निकाय लाग्नुपर्नेमा उपप्रध्यापक कटुवालले जोड दिए । उनका अनुसार सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा चराको वासस्थान मानिन्छ ।

कोशीटप्पुमा बर्सेनि नयाँनयाँ प्रजातिका चरा आउनेक्रम थपिए पनि विगतका वर्षमा झैँ झुण्डझुण्डमा आउने चराको सङ्ख्यामा भने कमी आएको राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताए । उनका अनुसार विशेष गरी जाडो छल्न र बच्चा कोरल्न पाहुना चराको आकर्षक गन्तव्य नेपाल बन्ने गरेको छ । हजारौँको सङ्ख्यामा आउने बार हेडेड गुस ९खोया हाँस० को सङ्ख्या भने पछिल्लो समय घट्दै गएको उनको भनाइ छ ।

जाडो छल्न आउने हिउँदे आगन्तुक चरा नेपालका प्रमुख सिमसार क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी ताल, जगदिशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा प्रायः रहने प्रमुख गौतमले जानकारी दिए ।

उनका अनुसार जाडो याममा नेपालमा बसाइँ सरेर आउने चराको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छन् । खाया हाँस, सुनजुरे हाँस, कैलो टाउके हाँस, मादक हाँस, खडखडे हाँस, हरियो टाउके हाँस, लक्ष्मण सारस, कर्‍याङकुरुङ सारस, राजहुटिट्याउलगाउत चरा यहाँ आउने उहाँले जानकारी दिनुभयो । अन्य प्रजातिमा सिकारी तथा मांशहारी चरामा गोमायु महाचिल र श्येनबाज पर्दछन् भने थलचर चरामा हिमाली भद्राई, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, बगाले बगेडीलगायत पर्दछन् ।

“गर्मी याममा आगन्तुक चरा बच्चा कोरल्न नेपाल आउने गर्दछन् । यी चरा असोजसम्ममा आफ्ना बच्चा हुर्काएर पुरानै वासस्थानमा फर्कन्छन् । यसरी आउने करिब ६० प्रजातिका चराको अधिकांश हिस्सा कोइली प्रजातिको हुन्छ । नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले आफ्नो गुँड बनाउँदैनन् र आफ्नो अण्डा अरू चराको गुँडमा पार्दिन्छन् । उक्त चराले आफ्नै सन्तान ठानेर कोइलीको बच्चालाई हुर्काउँछ”, प्रमुख गौतमले भने।

नेपाल आउने अन्य चरामा मुरलीचरी, गाजले सुनचरी, स्वर्गचरी, चित्रक पिट्टा, कटुस टाउकेलगायत रहेका उनले जानकारी दिए । ग्रीष्मकालीन आगन्तुक चराको मुख्य वासस्थान वन, आसपासका घाँसे मैदान, कृषि भूमिलगायत क्षेत्र हुने कोशी संरक्षण केन्द्रका प्रमुख गौतमले उल्लेख गरे।

 

प्रकाशित मिति: ११ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com