काठमाडौं । नेकपा (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनको तयारी तीव्र पारेको छ। सोही तयारीका लागि पार्टीको केन्द्रीय सचिवालय बैठक आगामी कात्तिक १५ गते बस्ने भएको छ। बैठकले महाधिवेशनसँग सम्बन्धित प्रमुख कार्यसूचीहरूमा निर्णय गर्ने तयारी गरेको एमालेले जनाएको छ।

हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले एघारौँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा आयोजना गर्ने निर्णय गरिसकेको छ। पार्टीका केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार, कात्तिक १५ गते बस्ने सचिवालय बैठकले महाधिवेशनका तयारीबारे विस्तृत समीक्षा गर्दै आवश्यक निर्णयहरू गर्नेछ।

advertisement

उनका अनुसार बैठकले महाधिवेशन प्रतिनिधि छनोटको विधि तय गर्ने, तयारीका लागि विभिन्न उपसमिति गठन गर्ने, स्थानीय आयोजकसँग समन्वय गर्ने लगायतका विषयमा निर्णय लिनेछ। सो बैठकमार्फत महाधिवेशन तयारीको विस्तृत कार्ययोजना तथा लोगो र नारा पनि सार्वजनिक गरिने जनाएको छ।

गण्डकी प्रदेश समिति, कास्की जिल्ला समिति र पोखरा महानगर समिति महाधिवेशनका लागि प्रारम्भिक तयारीमा जुटिसकेका छन्। भदौ २४ गते च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आगलागी भएपछि सोही स्थानमा पाल टाँगेर अस्थायी कार्यालय सञ्चालनमा ल्याइएको छ। डा. अधिकारीका अनुसार त्यही कार्यालयबाट दैनिक कामसँगै महाधिवेशन तयारीसम्बन्धी गतिविधि पनि अघि बढाइएको छ।

हाल एमालेमा करिब साढे छ लाख पार्टी सदस्य रहेका छन्। सदस्य सङ्ख्याका आधारमा महाधिवेशन प्रतिनिधि तय गरिने भएको छ। यसअघि दसौँ महाधिवेशनमा करिब १८ सय प्रतिनिधि चयन गरिएको थियो। यसपटक सदस्यता बढेकाले प्रतिनिधि सङ्ख्या पनि उल्लेख्य रूपमा बढ्ने पार्टी नेताहरूको अनुमान छ।

प्रकाशित मिति: ११ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com