काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका सबै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा एकताबद्ध हुन आह्वान गरेका छन्।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत विचार व्यक्त गर्दै प्रचण्डले देशले सामना गरिरहेका राजनीतिक जटिलता, जनअपेक्षाका प्रश्न, राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि देखा परेका चुनौती समाधान गर्न अब सबै गणतान्त्रिक शक्तिहरूले साझा राष्ट्रिय पहल लिनुपर्ने समय आएको उल्लेख गरेका छन्।

advertisement

उनले लेखेका छन्, ‘राष्ट्रले भोगिरहेका समस्या र संकटहरूको समाधान अग्रगामी क्रान्तिकारी सोच, प्रतिबद्ध संगठन र इमान्दार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव छ। यस सन्दर्भमा देशभक्त, प्रगतिशील र वामपन्थी शक्तिबीचको संगठनात्मक एकता र लोकतान्त्रिक शक्तिबीचको सहकार्य अपरिहार्य बनेको छ।’

प्रचण्डका अनुसार राष्ट्रिय स्वाधीनता, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवाद निर्माणको दिशामा ठोस कदम चाल्न माओवादीसहितका वामपन्थी दलहरूले एकता र साझा आन्दोलनका माध्यमबाट अघि बढ्नु आजको ऐतिहासिक आवश्यकता हो।

उनले भनेका छन्, ‘यो सत्यलाई आत्मसात गर्दै म देशभर रहेका सबै माओवादी धाराका वामपन्थीहरूलाई एउटै कम्युनिस्ट पार्टीको झन्डामुनि गोलबद्ध हुन हार्दिक अपिल गर्दछु। साथै, संविधानको रक्षा, समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधीनताको सबलीकरणका लागि सबै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा एकजुट हुन आह्वान गर्दछु।’

प्रकाशित मिति: ११ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com