काठमाडौं । पत्नी रविलक्ष्मी चित्रकारको उपचारका लागि डेढ महिनादेखि भारतको दिल्लीमा रहँदै आएका पूर्वप्रधानमन्त्री तथा नेकपा (एस) का सम्मानित नेता झलनाथ खनाल सोमबार बेलुकी काठमाडौं फर्किएका छन्।

खनाल पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन काठमाडौं आएका हुन्। बैठक सकिएपछि उनी पुनः दिल्ली फर्किने स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए। उनका अनुसार खनालले आफ्नो अनुपस्थितिमा पार्टीभित्र फैलिएका विभिन्न अफवाहका विषयमा स्पष्ट धारणा राख्न बैठकमा उपस्थित हुने भएका हुन्।

advertisement

पार्टी एकता लगायतका विषयमा उनीबारे धेरै अफवाह फैलाइयो। त्यसैले उनले आफ्ना कुरा पार्टीको आधिकारिक मञ्चमै राखेर फेरि दिल्ली फर्किने, भट्टराईले भने।

नेकपा (एस) ले बुधवारदेखि शुक्रबारसम्म सुकेधारास्थित मिराकल पार्टी भेन्युमा केन्द्रीय कमिटी बैठक बोलाएको छ। उक्त बैठकमा नेकपा माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपा लगायतका वामपन्थी शक्तिबीच सम्भावित एकताबारे छलफल हुने तयारी गरिएको छ।

तर, पार्टीभित्र एकता प्रक्रियाको औचित्य र सान्दर्भिकतामा मतभेद देखिएको छ। खनालले यसअघि दिल्लीबाट विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रसँगको एकता प्रयासको विरोध गरेका थिए। महासचिव घनश्याम भुसालले समेत ‘एकता किन र केका लागि ?’ भन्ने प्रश्न उठाएका छन्। यद्यपि अध्यक्ष माधवकुमार नेपाल पक्षले सबै नेताहरूको सहमति जुटाएको दाबी गरेको छ।

भट्टराईका अनुसार खनाल अझै पनि माओवादी केन्द्रसहितको एकतामा जाने पक्षमा छैनन्। अरू एकता गरेर गए पनि उहाँ नेकपा (एस) नै सञ्चालन गर्ने अडानमा हुनुहुन्छ, उनले स्पष्ट पारे।

यसैबीच, दिल्लीको अपोलो अस्पतालमा उपचाररत उनकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको बताइएको छ। स्वास्थ्य अवस्था धेरै राम्रो भइसकेको छ, तर चिकित्सकको सिफारिसअनुसार केही समय अझै अस्पतालमै रहनुपर्नेछ, भट्टराईले जानकारी दिए।

प्रकाशित मिति: ११ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com