काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जना उच्च पदस्थ व्यक्तिहरूमाथि गरिएको पासपोर्ट रोक्का र राजधानी छाड्न नपाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।
मंगलबार बिहान अधिवक्ता प्रेमराज सिलवालले भदौ २३ र २४ गतेका घटनासम्बन्धी छानबिनका लागि गठित जाँचबुझ आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट पेश गरेका हुन्।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको उक्त आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजालको पासपोर्ट रोक्का गर्न तथा उनीहरूलाई काठमाडौं उपत्यका बाहिर जान निषेध गर्ने निर्णय गरेको थियो।
रिटमा आयोगको उक्त कदम संविधानले सुनिश्चित गरेको सम्मानपूर्वक बाँच्न पाउने हक र व्यक्तिगत स्वतन्त्रताको उल्लङ्घन भएको दाबी गरिएको छ। अधिवक्ता सिलवालले सो निर्णयलाई गैरकानुनी भन्दै खारेज गर्न माग गरेका छन्। साथै, भविष्यमा कसैको पनि पासपोर्ट रोक्का नगर्न र स्थान हद तोक्ने निर्णय नगर्न परमादेश जारी गर्न माग गरिएको छ।
रिट सर्वोच्च अदालतमा दर्ता प्रक्रिया अन्तर्गत रहेको र हाल प्रशासनले त्यसको प्रारम्भिक अध्ययन गरिरहेको स्रोतले जनाएको छ।
यसअघि पनि संसद् विघटनदेखि सरकार गठनसम्बन्धी विषयमा सर्वोच्चमा १० भन्दा बढी रिट दर्ता भइसकेका छन्। नवदाखिल रिटको पहिलो सुनुवाइ बुधबार हुने कार्यक्रम रहेको बताइएको छ।
प्रकाशित मिति: ११ कार्तिक २०८२, मंगलबार












प्रतिक्रिया