काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका छन्। तर उनीहरू कुन अस्पतालमा भर्ना भएका हुन् भन्ने विवरण सार्वजनिक गरिएको छैन।
देउवा दम्पती सोमबार राति सिंगापुर एयरलाइन्सको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुर प्रस्थान गरेका थिए। मंगलबार बिहान उनीहरू सिंगापुरको चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। विमानस्थलमा बाहिरिने क्रममा उनीहरू ह्विलचेयरमा सवार देखिएका थिए।
जेन-जी आन्दोलनको दोस्रो दिन, भदौ २४ गते, अराजक समूहले देउवा दम्पतीमाथि आक्रमण गरी निर्घात कुटपिट र उनीहरूको घरमा आगजनी गरेको घटना स्मरणीय छ। त्यसपश्चात् उनीहरूको स्वास्थ्य अवस्था बिग्रिएको बताइएको छ।
तर उनीहरू सिंगापुरमा कुन रोगको उपचारका लागि गएका हुन् भन्नेबारे आधिकारिक जानकारी दिइएको छैन। कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पनि अस्पतालको नामबारे आफूलाई जानकारी नभएको बताए। ‘अस्पतालको नाम मैले सोधिन,’ उनले भने। यसैबीच, सभापति देउवाका स्वकीय सचिव भानु देउवासँग सम्पर्क हुन नसकेको कांग्रेस स्रोतले जनाएको छ।
प्रकाशित मिति: ११ कार्तिक २०८२, मंगलबार












प्रतिक्रिया