काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आसन्न निर्वाचनमा पार्टीलाई लोकप्रिय बनाउन र अधिक मत हासिल गर्न निर्वाचनअघि नै नेतृत्व परिवर्तन आवश्यक रहेको बताएका छन्।

उनले ‘जेन-जी’ पुस्ता र नयाँ मतदातालाई आकर्षित गर्न पार्टीले महाधिवेशनमार्फत नयाँ नेतृत्व र स्पष्ट नीतिगत दिशा तय गर्नुपर्नेमा जोड दिएका हुन्।

advertisement

मंगलबार सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै नेता पौडेलले भदौ २३ र २४ गतेको आन्दोलनले देशको राजनीतिक परिस्थिति बदलिएको र अब कांग्रेस यथास्थितिमा रहन नसक्ने बताए।

‘यदि हामीले फागुन २१ गतेको निर्वाचनभन्दा अगाडि नेतृत्व परिवर्तन गर्न सक्यौँ, नीतिगत स्पष्टता देखाउन सक्यौँ भने निर्वाचनमा हामीलाई धेरै मत प्राप्त हुने स्थिति हुन सक्छ,’ उनले भने, ‘नेपाली कांग्रेस लोकप्रिय पार्टी बन्न सक्छ।’

उनले कार्यकाल सकिएको वर्तमान नेतृत्वको म्याद थप गर्नुको सट्टा तत्काल महाधिवेशनमा जानु नै पार्टीको हितमा हुने तर्क गरे।

उनका अनुसार, महाधिवेशनले मात्र पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्ने, ‘जेन-जी’ आन्दोलनले उठाएका भ्रष्टाचार विरोधी र सुशासनका मुद्दामा पार्टीलाई स्पष्ट बनाउने र आम कार्यकर्तामा नयाँ ऊर्जा भर्नेछ।

नेता पौडेलले भने, ‘भ्रष्टाचार नै सबै समस्याको जड हो भन्ने निष्कर्ष निस्किएको छ। त्यसैले त्यसलाई अन्त्य गर्न के गर्छौं भन्नेबारे हामीले स्पष्ट दृष्टिकोण ल्याउन सकेका छैनौँ।’

उनले संविधान संशोधन, प्रत्यक्ष कार्यकारी प्रणाली र संसदीय व्यवस्थाको सुधार जस्ता विषयमा पार्टीले महाधिवेशनबाटै आधिकारिक धारणा बनाउनुपर्नेमा जोड दिए।

समय अभावको कारण देखाएर महाधिवेशन टार्न नहुने बताउँदै उनले ‘फास्ट ट्र्याक’ विधिबाट पुस महिनाभित्रै १५औँ महाधिवेशन सम्पन्न गर्न सकिने दाबी गरे। ‘यो सबै अवसर प्राप्त गर्नका निम्ति हामीले पुस महिनाभित्र १५औँ महाधिवेशन जुनसुकै अवस्थामा पनि सम्पन्न गर्नुपर्छ,’ उनले भने।

पार्टीको जारी केन्द्रीय समिति बैठकप्रति इङ्गित गर्दै उनले नेतृत्वले महाधिवेशनको विकल्प खोजेमा पार्टी थप जटिलतामा फस्ने चेतावनी दिए।

उनले महाधिवेशनको मिति घोषणा गरेर पार्टीलाई पुनर्जीवन दिन र आसन्न चुनावमा पहिलो पार्टी बनाउन सबै नेता-कार्यकर्तालाई एकताबद्ध हुन आह्वान गरे।

प्रकाशित मिति: ११ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com