काठमाडौं । आर्थिक हिनामिनाको गम्भीर आरोपमा नेकपा (एमाले) का पूर्वसांसद तथा व्यवसायी देवीप्रसाद भट्टचनलाई प्रहरीले पक्राउ गरेको छ।
प्रभु ग्रुपका अध्यक्षसमेत रहेका भट्टचनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार ललितपुरबाट पक्राउ गरेको हो।
प्रहरी स्रोतका अनुसार, प्रभु ग्रुपसँग सम्बन्धित ठूला आर्थिक अनियमितता र ठगी प्रकरणमा संलग्न रहेको आशंकामा उनलाई नियन्त्रणमा लिइएको हो।
भट्टचनविरुद्ध प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले करिब ९८ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना र ठगी गरेको आरोपमा करिब एक वर्षअघि जाहेरी दर्ता गरेकी थिइन्। उक्त मुद्दा लामो समयसम्म जिल्ला प्रहरी परिसर, काठमाडौंमा निष्क्रिय रहँदा पीडित पक्षले असन्तुष्टि जनाउँदै आएका थिए।
प्रहरीले प्रारम्भिक चरणमा जाहेरी लिन अस्वीकार गरेपछि लामाले सरकारी वकिलको कार्यालयमार्फत उजुरी दर्ता गराएकी थिइन्। त्यसपछि २०८१ असोज ११ गते सरकारी वकिलको कार्यालयले अनुसन्धानका लागि फाइल प्रहरीमा पठाएको थियो।
तर, भट्टचन तत्कालीन सत्तारुढ दलका सांसद र प्रभावशाली व्यवसायी भएकाले अनुसन्धान अघि बढ्न नसकेको स्रोतको भनाइ छ। हाल सीआईबीले उनलाई नियन्त्रणमा लिएर मुद्दाको तथ्य–परक अनुसन्धान सुरु गरेको जनाएको छ।
प्रकाशित मिति: ११ कार्तिक २०८२, मंगलबार













प्रतिक्रिया