काठमाडौँ । प्रहरी प्रभाग नगरकोटको नवनिर्मित भवन सञ्चालनमा आएको छ । मङ्गलबार आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ्गले सो भवनको उद्घाटन गरेका हुन् । साथै उनले उक्त नवनिर्मित भवनको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गरेका छन् ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले नवनिर्मित भवन केवल भौतिक संरचना मात्र नभई आम नागरिकको प्रहरीप्रतिको जीवन्त अपेक्षा र विश्वासको प्रतीक समेत भएको बताए ।
नवनिर्मित भवनले उच्च मनोबल तथा परिष्कृत सेवाभावका साथ प्रहरीद्वारा प्रदान गरिने सेवा प्रवाहलाई थप चुस्त, प्रभावकारी, पारदर्शी र जनमुखी बनाउँदै प्रहरी र नागरिकबीचको सम्बन्धलाई अझ सुमधुर र सुदृढ बनाउने उनको विश्वास छ।
प्रहरी महानिरीक्षक खापुङ्गले कानुन कार्यान्वयन तथा समाजमा घट्ने हरेक विपत्ति, दुर्घटना र असामान्य परिस्थितिमा अग्रपंक्तिमा रही सेवा प्रवाह गर्दै आएको नेपाल प्रहरी प्रति नागरिहरूको ठूलो आस्था र भरोसा रहेको चर्चा गर्दै सो भरोसालाई जीवन्त बनाई राख्न विगतका कमी कमजोरीको विश्लेषण गर्दै शिष्ट आचरण र व्यवहारका साथ उत्कृष्ट कार्यसम्पदान गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।
सरकारको नियमित बजेटबाट कुल रु चार करोड ४६ लाख १८ हजार एक सय ९७ को लागतमा उक्त भवन निर्माण सम्पन्न भएको हो ।
प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार











प्रतिक्रिया