काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज बेलुकी बस्न लागेको त्रिपक्षीय संवादमा जेन–जी समूहका १४ जना प्रतिनिधि सहभागी हुने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ४ बजे हुने उक्त बैठकमा सरकार, राजनीतिक दल र जेन–जी आन्दोलनका प्रतिनिधिहरूबीच प्रत्यक्ष संवाद हुने तयारी गरिएको छ।

सरकारतर्फबाट प्रधानमन्त्री कार्कीका साथै गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदीश खरेल सहभागी हुनेछन्। राजनीतिक दलका तर्फबाट १६ जना शीर्ष नेताहरू उपस्थित हुने कार्यक्रम छ।

advertisement

जेन–जी आन्दोलनपछि पहिलोपटक यस्तो त्रिपक्षीय संवाद हुन लागेको हो। गत भदौ २३ र २४ गतेको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए, जसपछि संसद्‌बाट नयाँ सरकार गठन हुन नसकेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको थियो।

कार्की नेतृत्वको अन्तरिम सरकार २७ भदौमा गठन गरिएको हो। त्यसयता सरकारले जेन–जी समूह र दलका नेताहरूसँग छुट्टाछुट्टै रूपमा छलफल गर्दै आएको भए पनि आजको बैठक पहिलो औपचारिक संयुक्त संवाद हो।

यसअघि प्रधानमन्त्री कार्कीले कात्तिक ४ गते सर्वदलीय बैठक बोलाएकी थिइन्, भने असोज २४ गते राष्ट्रपति रामचन्द्र पौडेलले पनि राजनीतिक दलहरूबीच सहमतिको पहलस्वरूप बैठक आयोजना गरेका थिए।

चुनावको तयारीबारे विभिन्न आशंका उठिरहेका बेला प्रधानमन्त्री कार्कीले संवादलाई आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको वातावरण निर्माणतर्फको महत्वपूर्ण कदमका रूपमा लिएकी छन्।
प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार, ‘निर्वाचनलाई सफल र सर्वस्वीकार्य बनाउन प्रधानमन्त्री कार्कीले सरकार, राजनीतिक दल र जेन–जी प्रतिनिधिलाई एउटै मंचमा ल्याएर विश्वास पुनःस्थापना गर्ने प्रयास गरेकी हुन्।’

प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com